सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा इच्छाराज तामाङसहित १७ जना दोषी ठहर


काठमाडौँ । काठमाडौँ जिल्ला अदालतले सिभिल सहकारी ठगी तथा संगठित अपराधको मुद्दामा पूर्वसांसद इच्छाराज तामाङसहित १७ जनालाई दोषी ठहर गर्दै सजाय निर्धारण गरेको छ ।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले ठगी तथा संगठित अपराध कसूरमा अभियुक्तहरूलाई कसूरको गम्भीरता अनुसार कैद, जरिवाना तथा बिगो भराउनेसम्बन्धी फैसला सुनाएको हो ।

अदालतले मुख्य प्रतिवादी इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाएको छ । साथै, जाहेरवालाहरूको कुल बिगो ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३ सय ३९ रुपैयाँ ८२ पैसा प्रतिवादीहरूबाट दामाशाही हिसाबले जाहेरवाला बचतकर्ताहरूलाई भरारइदिने आदेश गरिएको छ ।

न्यायाधीश बोहराको इजलासले दोषी ठहर भएका प्रतिवादी प्रवीणप्रसाद प्रधानर केशवलाल श्रेष्ठलाई जनही ५  वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना हुने फैसला सुनाएको छ । त्यस्तै रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछाने, दानहिरा तुलाधर (कंसाकार), सिर्जना शाक्य (तामाङ) र लालकाजी गुरुङलाई जनही १ वर्ष कैद र १० हजार जरिवाना हुने फैसला सुनाएको छ ।

त्यस्तै दुर्गाप्रसाद संग्रौला, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी, मुकुन्दप्रसाद नेउपाने, नगेन्द्र विमली, रामराज मास्के, हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद सजाय र ५ हजार जरिवाना हुने फैसला सुनाएको छ । त्यस्तै मीना गुरुङलाई ५ महिना कैद र ४० हजार जरिवाना हुने फैसला सुनाएको छ ।