काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने बताएका छन्।
शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै उनले सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई नै दिने सरकारको नीति रहेको स्पष्ट पारे । अर्थमन्त्री वाग्लेले सरकार आफैँले उद्योग चलाउन थाल्यो भनेर बाहिर निर्माण गरिएको भाष्य गलत भएको बताए ।
सरकारी स्वामित्वका उद्योगको सम्पत्ति र दायित्व व्यवस्थापन गरी निश्चित प्रक्रिया पूरा गरेर सञ्चालनको जिम्मा निजी क्षेत्रलाई नै हस्तान्तरण गरिने उनले स्पष्ट पारे।
अर्थमन्त्री वाग्लेले गोरखकाली रबर उद्योग, हेटौँडा सिमेन्ट र उदयपुर सिमेन्टलगायत सातवटा सार्वजनिक उद्योगको विस्तृत मूल्यांकन (डीडीए) सम्पन्न भइसकेको जानकारी दिए। ती निकायको मूल्यांकनका आधारमा सरकारी जग्गा तथा सम्पत्तिको व्यवस्थापन गरी सञ्चालनका लागि निजी क्षेत्रलाई बाटो खुला गरिने उनको भनाइ छ।
‘सरकारले उद्योग नै चलाउन थाल्यो कि भन्ने छ, तर हामीले धुलो टक्टक्याएका मात्र हौँ । यसलाई एउटा निश्चित बिन्दुमा पुर्याएर निजी क्षेत्रलाई नै दिने हो। त्यसैले अहिले नै जुन ‘प्रिम्याच्योर’ भाष्य निर्माण गर्न खोजिँदै छ, यो उपयोगी होइन,’ उनले भने ।




प्रतिक्रिया