काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले आफ्नै पार्टीका नेता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलप्रति लक्षित गर्दै उनी देशकै सबैभन्दा ठूलो ‘नेपोबेबी’ (नातावादका उपज) भएको गम्भीर आरोप लगाएका छन्।
सिंहदरबार परिसरमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद सिंहले मन्त्री पोखरेलको पारिवारिक र राजनीतिक पृष्ठभूमिलाई लिएर तीखा शब्द प्रहार गरेका हुन्।
“शिक्षामन्त्रीभन्दा ठूलो ‘नेपोबेबी’ यो देशमा कोही छैन। छ भने मलाई देखाइदिनुस्,” आक्रोशित मुद्रामा प्रस्तुत भएका सिंहले भने, “चाहे मामावलीपट्टि हेर्नुस्, चाहे बुबापट्टिबाट हेर्नुस्, उहाँको जग नै नातावादमा अडिएको छ।”
‘विश्वविद्यालय मन्त्रालयको शाखा कार्यालय होइन’
कुराकानीका क्रममा सांसद सिंहले शिक्षा मन्त्रालयले उच्च शिक्षा र विश्वविद्यालयहरूमाथि गरिरहेको हस्तक्षेपप्रति पनि तीव्र असन्तुष्टि व्यक्त गरे। विश्वविद्यालयहरू स्वायत्त निकाय भएकाले ती आफ्नै ऐन, नियम र परिधिभित्र सञ्चालन हुनुपर्ने उनको भनाइ थियो।
विश्वविद्यालयलाई मन्त्रालयको शाखा जस्तै बनाउन खोजिएको भन्दै उनले अगाडि थपे, “विश्वविद्यालयहरू आफैँमा स्वायत्त संस्था हुन्। विश्वविद्यालयका आफ्नै ऐन र नियम हुन्छन्, यो शिक्षा मन्त्रालयको शाखा कार्यालय होइन। मन्त्रालयको यस्तै अनुचित हस्तक्षेपका कारण आज देशको समग्र शिक्षाको त नाश नै भइसकेको छ।”
आफ्नै दलका मन्त्रीविरुद्ध रास्वपा सांसद सिंहको यो कडा टिप्पणी सार्वजनिक भएपछि रास्वपाभित्रको आन्तरिक असन्तुष्टि र मतभेद थप सतहमा आएको रूपमा हेरिएको छ।




प्रतिक्रिया