तीन वर्षीया बालिका बलात्कारपछि हत्या प्रकरण : मुख्य प्रतिवादी नै २० हजार धरौटीमा रिहा


काठमाडौं । तीन वर्षीया बालिकाको अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यानसम्बन्धी मुद्दामा बारा जिल्ला अदालतले मुख्य प्रतिवादी प्रोग्रेस चौधरी भन्ने पुरगेश चौधरीलाई २० हजार रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।

न्यायाधीश प्रकाशकुमार अधिकारीको इजलासले बिहीबार चौधरीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६७ र ७२ बमोजिम २० हजार रुपैयाँ नगद धरौटी वा सो बराबरको जमानत दिन आदेश दिएको हो।

अदालतले तोकेको धरौटी वा जमानत बुझाउन नसके चौधरीलाई कानुनबमोजिम थुनामा राख्न वीरगन्जस्थित कारागार कार्यालयमा पठाउन निर्देशन दिएको छ।

यस मुद्दामा अभियोग लगाइएका अन्य नौ प्रतिवादीको हकमा भने तत्काल प्राप्त मिसिलमा अभियोग दाबी पुष्टि गर्ने पर्याप्त प्रमाण नरहेको अदालतले ठहर गरेको छ। इन्द्रजित चौधरी, बबिता चौधरी, ममता चौधरी, पुष्पा चौधरी, नवीन विक, टेकबहादुर थापा मगर, शेष हसमुदिन आलम, सबिता चौधरी र विन्दु देवी चौधरीलाई तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्न आदेश दिइएको छ।

यस्तो थियो घटना

गत साउन ३१ गते बिहान खेलिरहेको अवस्थामा तीन वर्षीया गरिमा चाैधरी हराएकी थिइन्। परिवार तथा स्थानीयले खोजतलास गर्ने क्रममा भदौ २ गते दिउँसो बालिका जितपुरसिमरा उपमहानगरपालिका–१, भक्तिनगर टोलस्थित वीरबहादुर रोक्काको खाली घरभित्र मृत अवस्थामा फेला परेकी थिइन्।

उक्त घटनालाई लिएर देशभर आन्दोलन चर्किएको थियो। भदौ ६ गते गृह मन्त्रालयमा गृहमन्त्री, कानुनमन्त्री, प्रहरी महानिरीक्षकसहित सरकारी टोलीसँग मृतक बालिकाका बुबा मनोज र आमा मानमतीले वार्ता गरेका थिए। वार्तामा तीनबुँदे सहमति भएपछि बालिकाको भदौ ७ गते कलैयाको पसाहा खोलामा अन्त्येष्टि गरिएको थियो।

बालिकाका बुबा मनोज र आमाले दाेषीलाई मृत्युदण्डकाे सजाय दिनुपर्ने माग राखेका थिए । स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक तथा वरिष्ठ पत्रकार ऋिषि धमलाले पनि आवश्यक परे कानुन परिमार्जन गरेर भएनी दाेषीलाई कडा सजाए दिनुपर्ने बताउँदै आएका थिए ।