सहमतिको खोजीमा २५ नेता : कांग्रेसभित्र आन्तरिक विवाद समाधानको कसरत


काठमाडौ । नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद चर्किँदै गएपछि पार्टीका २५ जना नेताले एकता कायम गर्न नेतृत्वलाई आग्रह गर्दै संयुक्त अपिल जारी गरेका छन्।

देश गम्भीर परिस्थितिबाट गुज्रिरहेको र राजनीतिक अस्थिरता बढ्दै गएको भन्दै उनीहरूले पार्टीभित्रको विवाद तत्काल अन्त्य गरी कांग्रेसलाई एकताबद्ध बनाउन नेतृत्वको ध्यानाकर्षण गराएका हुन्।

महालक्ष्मी उपाध्याय ‘डिना’, सुरेन्द्र पाण्डे, श्याम घिमिरे, जीवनबहादुर शाहीलगायत २५ नेताको हस्ताक्षर रहेको वक्तव्यमा पार्टीभित्रको आन्तरिक कलहले कांग्रेसलाई मात्र नभई समग्र राष्ट्रिय राजनीतिलाई समेत नकारात्मक दिशातर्फ धकेलिरहेको उल्लेख गरिएको छ।

१५औँ महाधिवेशनको तयारी भइरहेका बेला पार्टीले विगतका विवाद र मतभेदबाट पाठ सिकेर अघि बढ्नुपर्ने उनीहरूको भनाइ छ। वक्तव्यमा भनिएको छ, ‘१५औँ महाधिवेशनको सङ्घारमा हामीले विभिन्न तीतामीठा अनुभवहरू प्राप्त गरेका छौँ। ती अनुभवबाट पाठ सिक्दै विगतका विवाद र मतभेद बोकेर बस्ने होइन, पार्टीलाई एक ढिक्का बनाएर अघि बढ्नुपर्छ।’

नेताहरूले पार्टी सभापति गगन थापाको भूमिकालाई पार्टी एकताका लागि महत्वपूर्ण मानेका छन्। उनीहरूले कांग्रेसको बृहत् एकता कायम गर्न सभापतिले निर्णायक पहल गर्नुपर्नेमा जोड दिएका छन्। संयुक्त अपिलमार्फत उनीहरूले हाल घोषणा गरिएको १५औँ महाधिवेशनको कार्यतालिका तत्काल स्थगित गर्न माग गरेका छन्। साथै पार्टीका दुवै पक्षबीच यथाशीघ्र निर्णायक वार्ता सुरु गरी सम्पूर्ण एकताको वातावरण बनाउन आग्रह गरेका छन्।

नेताहरूले व्यक्तिगत स्वार्थ र अहङ्कार त्यागेर पार्टीको बृहत् हितलाई केन्द्रमा राख्न नेतृत्वसँग आग्रह गरेका छन्। संवाद, सहमति र सहकार्यका माध्यमबाट विवाद समाधान गर्दै सबै पक्षलाई समेटेर अघि बढ्ने वातावरण निर्माण गर्नुपर्ने उनीहरूको माग छ।

कांग्रेसलाई एकताबद्ध, सबल र शक्तिशाली बनाएर मात्रै वर्तमान राष्ट्रिय चुनौतीको सामना गर्न सकिने उल्लेख गर्दै उनीहरूले पार्टीको सम्पूर्ण पङ्क्तिलाई एकताको अभियानमा जुट्न अपिल गरेका छन्।