इरानविरूद्ध युद्ध सुरु गरेकामा ट्रम्पलाई छैन पछुतो


काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानविरुद्ध युद्ध सुरु गरेको निर्णयप्रति आफूलाई कुनै पछुतो नभएको बताएका छन्। आगामी नोभेम्बरमा हुने अमेरिकी मध्यावधि निर्वाचनमा युद्धको प्रभाव पर्न सक्ने भए पनि निर्णयप्रति आफूले पुनर्विचार नगर्ने उनको भनाइ छ।

फक्स न्युजकी प्रस्तोता लौरा इन्ग्राहमसँगको अन्तर्वार्तामा ट्रम्पले आफू ‘पछुतो’ भन्ने शब्दमा विश्वास नगर्ने बताए। निर्वाचनमा असर पर्न सक्ने भएकाले इरानविरुद्ध युद्ध सुरु गरेकोमा पछुतो छ कि छैन भन्ने प्रश्नको जवाफ दिँदै उनले भने, “म ‘पछुतो’ भन्ने शब्दमा विश्वास गर्दिनँ। मानिसले आफूले गरेको निर्णयबारे केही हदसम्म प्रश्न गर्न सक्छ।”

बिहीबार प्रसारित ‘द इन्ग्राहम एंगल’ कार्यक्रममा ट्रम्पले आफूले फेरि पनि उस्तै परिस्थिति सामना गर्नुपरे अहिले लिएको निर्णय नै दोहोर्‍याउने बताए। “यदि मैले फेरि त्यही गर्नुपर्ने भयो भने, मैले गरेकै कुरा ठ्याक्कै त्यही रूपमा गर्ने थिएँ,” उनले भने।

युद्धका कारण आफ्ना केही समर्थक निराश भएको र उनीहरूको मनोबल खस्किएको भन्ने दाबीलाई पनि ट्रम्पले अस्वीकार गरे। उनका अनुसार इरानलाई परमाणु हतियार निर्माण गर्नबाट रोक्न सफल हुनु आफ्ना समर्थकका लागि गर्वको विषय हो।

ट्रम्पले मध्यावधि निर्वाचन सकिएलगत्तै युद्ध अन्त्य हुने आफ्नो धारणा पनि दोहोर्‍याएका छन्। “यो निर्वाचन सकिएलगत्तै अन्त्य हुन्छ,” उनले अन्तर्वार्तामा भने।

यसअघि बुधबार पनि ट्रम्पले यस्तै धारणा व्यक्त गर्दै इरानले अमेरिकी निर्वाचनलाई प्रभावित पार्न खोजिरहेको आरोप लगाएका थिए। आगामी नोभेम्बरमा हुने मध्यावधि निर्वाचनले ट्रम्प नेतृत्वको रिपब्लिकन पार्टीले अमेरिकी संसद् अर्थात् कांग्रेसमा आफ्नो नियन्त्रण कायम राख्ने वा गुमाउने भन्ने निर्धारण गर्नेछ।

यसैबीच, अमेरिका–इजरायलको इरानविरुद्धको युद्धका कारण तेल तथा ग्यासको मूल्य बढ्दै गएपछि यो विषय निर्वाचनअघि रिपब्लिकन पार्टीका लागि महत्वपूर्ण राजनीतिक मुद्दा बन्न थालेको छ।

अमेरिका र इजरायलले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण गरेपछि इरानले पनि इजरायल तथा अमेरिकी सैनिक अड्डा रहेका खाडी क्षेत्रका देशहरूलाई लक्षित गर्दै आक्रमण गरेको थियो। त्यसयता दुवै पक्षबीच आक्रमण र प्रत्याक्रमण जारी छ।

अमेरिका–इजरायलको इरानमाथिको आक्रमण तथा इजरायलले लेबनानमा गरेका आक्रमणका कारण ठूलो मानवीय क्षति भएको र लाखौँ मानिस विस्थापित भएको बताइएको छ।

ट्रम्पले युद्धका प्रमुख उद्देश्यहरूमध्ये इरानको परमाणु क्षमतामा कमजोरी ल्याउनु रहेको दाबी गर्दै आएका छन्। तर इरानले भने आफूले परमाणु हतियार निर्माण गर्न नखोजेको र आफ्नो युरेनियम प्रशोधन कार्यक्रम शान्तिपूर्ण उद्देश्यका लागि मात्र रहेको बताउँदै आएको छ।एजेन्सी