काठमाडौँ । लैङ्गिक तथा यौनिक अल्पसंख्यक (जिएसएम) समुदायकी अभियन्ता तथा तेस्रोलिंगी महिला नुमा लिम्बु (चञ्चला)ले तेस्रोलिंगी समुदायका अधिकार, पहिचान, सम्मान र समान अवसरका विषय सदनभित्रै उथलपुथल हुने गरी आवाज उठेको सुन्न चाहेको बताएकी छन्।
संसदमा जिएसएम समुदायका अधिकार, पहिचान, सम्मान र समान अवसरका विषयमा अपेक्षाकृत बलियो र निरन्तर आवाज नउठेको वास्तविक अवस्थाबीच चञ्चलाले सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद आशिका तामाङलाई गुहारेकी हुन्। उनले वर्तमान गतिविधि र परिवेशबारे जानकारी गराउँदै सांसदहरूलाई खुला प्रश्न गरेकी छन्।
‘समाजसेवा गर्ने क्रममा बाटोमा मागेर, सडकमा ताली बजाएर आफ्नो जीवन धान्नुपर्ने बाध्यताको भिडियो बनाएर भाइरल भएको त्यो समय हामीले देखेका छौँ’, उनले लेखेकी छन्, ‘आज त्यही अनुभव र पीडाबाट माथि उठेर नीति, नियम र कानुन संशोधन गर्ने ठाउँमा तपाईँ हुनुहुन्छ। त्यसैले माननीय आशिकाज्यू, अब जिएसएम समुदायको विषयमा बोलिदिनुहोस्।’
लिड नेपालकी कार्यकारी निर्देशक समेत रहेकी चञ्चलाले व्यवहारमै लागू हुने नीति, कानुन, बजेट र अधिकारका लागि सदनमा बलियो आवाज उठाइदिन भनेकी छन्।
जिएसएम समुदायको अधिकारका विषयमा नीति, कानुन र बजेट निर्माण गर्ने थलो संसद् भए पनि त्यहाँ समुदायको पीडा, पहिचान र अधिकारका विषयमा बलियो र निरन्तर आवाज उठ्न सकेको छैन।
२०६४ साल पुस ६ गते सर्वोच्च अदालतले तेस्रोलिंगीसहित लैङ्गिक तथा यौनिक अल्पसंख्यक समुदायको पहिचान र अधिकारका सम्बन्धमा दिएको आदेश, त्यसपछि २०६९ साल पुस १६ गते गृह मन्त्रालयले ‘अन्य’ पहिचानमा नागरिकता दिने व्यवस्था कार्यान्वयनमा ल्याएको सन्दर्भदेखि नागरिकता ऐनमा संशोधन र लोक सेवा आयोगमा आरक्षणको व्यवस्था कार्यान्वयन सुरु हुँदा समुदायलाई अलमलमा पारेर निहित व्यक्तिगत स्वार्थमा पूर्ति गर्नेहरूको भण्डाफोर भएको तथ्य समेत सदनमा उठ्न नसकेको समुदायका सदस्यहरूको गुनासो छ।
जिएसएम समुदायको प्रतिनिधित्व गरेको नाममा सांसद भूमिका श्रेष्ठ संस्थागत पारदर्शिता र जबाफदेहिताबाट जोगिन उच्च अदालत पुगेको ब्लु डायमन्ड सोसाइटीको संरक्षणमा मात्र केन्द्रित भएको आरोप छ।
सोसाइटीले पनि गत वर्ष साउन १५ गते वार्षिक साधारणसभा सार्वजनिक सूचना निकालेर गर्ने भनेको थियो। उक्त छलफलमा भूमिका श्रेष्ठले लेखापरीक्षण प्रतिवेदन र प्रगति प्रतिवेदन संस्थापक अध्यक्षलाई बुझाउनुको सट्टा समाचार लेख्ने मिडियालाई कारबाही गर्नुपर्ने सर्त राखेकी थिइन्। उक्त भिडियो पहिचान मिडियाको युट्युब च्यानलमा सुरक्षित रहेको छ।
संस्थापक अध्यक्ष सुनिल बाबु पन्तले आफ्नो अनुपस्थितिमा केही समयका लागि जिम्मेवारी दिएका सजीव गुरुङ पिंकी र सुबेन ढकाल मनिषाले संस्थापक अध्यक्ष पन्तलाई नै किकआउट गरेर संस्था कब्जा गरेपछि गत वर्ष धुम्बाराहीमा संयुक्त छलफल भएको थियो।
त्यतिमात्रै होइन, ब्लु डायमन्ड सोसाइटीले जिएसएम समुदायलाई पन्तको सम्पर्कमा नजान अझै पनि उर्दी जारी गरिरहेको आरोप लागेको छ। केही दिनअघि कोशी र मधेश प्रदेश पुगेका पन्तले आफैँले स्थापना गरेको संस्थाबाट समुदायमाथि धम्की आएको खुलासा गरेका थिए। उनले जिएसएम समुदायसँग भएको छलफलका तस्बिर समेत गोप्य राखेका छन्।
संस्थालाई लथालिङ्गको अवस्थामा पुर्याएर भिन्न पहिचानको माग गरेका र राज्यले पनि ‘अन्य’ लैङ्गिक पहिचानमा नागरिकता दिने व्यवस्था कार्यान्वयन गरेपछि तिनै व्यक्तिलाई पुरुष र महिला बनाउन सुबेन ढकालले लैङ्गिकता भनेको प्रोजेक्ट पार्ने र जागिर खाने माध्यम मात्र भएको देखाएको आरोप लागेको छ।
‘अन्य’ पहिचानमा नागरिकता लिएकी हाल सत्तारुढ रास्वपाकी सांसद भूमिका श्रेष्ठले लिङ्ग परिवर्तन गरेर महिला पहिचान लिएकी छन्। पन्तले निमित्त कार्यकारी निर्देशकको मात्र जिम्मेवारी दिएका सुबेन ढकालले आफैँ कार्यकारी निर्देशक बनेर ब्लु डायमन्ड सोसाइटी संस्थाको दुरुपयोग गर्दै छोरा जन्मेको महिला र छोरी जन्मेको पुरुषको पहिचान माग्ने उल्टो अभियान चलाएर समुदायलाई यता न उताको अवस्थामा पुर्याएको आरोप समुदायभित्रैबाट लागेको छ।
स्वस्थ व्यक्तिलाई अस्वस्थ बनाउने गरी हर्मोन सेवन गर्न लगाउने र लिङ्ग परिवर्तन गराई पुरुषलाई महिला र महिलालाई पुरुष बनाउने ढकालको अभियान बुझ्दै गएका जिएसएम समुदायका सदस्यहरूले प्रश्न गरिरहेका छन्। ढकालले भने पुरुष पहिचान भएकै नागरिकता बोकिरहेकी छन्। उनले आफ्नो भने लिङ्ग परिवर्तन गरेकी छैनन्।
बिग्रे अर्काका सन्तान न हुन्, के फरक पर्छ र, प्रोजेक्ट ल्याउने हो, जागिर खाने हो भन्ने सुबेन ढकालको एक मात्र मिसनले समुदायमा विवाद ल्याएको आरोप लागेको छ। ‘अन्य’ पहिचान पाएर सरकारी आरक्षणका अवसरमा प्रतिस्पर्धा गर्ने तयारीमा रहेकाहरूलाई हर्मोन र लिङ्ग परिवर्तनका लागि प्रोजेक्ट दिएर तेस्रोलिंगीविरुद्ध प्रयोग गरिरहेको आरोप समेत स्वघोषित सोसाइटीकी कार्यकारी निर्देशक ढकालमाथि लागेको छ।
पारदर्शिता र जबाफदेहिताको प्रश्नको जवाफ नदिई गैरजिम्मेवार रूपमा प्रस्तुत भएकी सुबेन ढकाललाई फोन सम्पर्क गर्दा सम्पर्कमै आउन चाहिनन्। बल्ल फोन उठाएकी ढकालले हेलो, हेलो भनेर पछि फोन काटिन।
पन्तको आशीर्वाद लिएर सोसाइटीको अध्यक्ष बनेकी सञ्जीव गुरुङ (पिंकी) ले समुदायकै सदस्यको हाइड्रोपावरमा सेयर लगानी गर्ने भन्दै लाखौँ रुपैयाँ ठगी गरेको उजुरी जिल्ला प्रहरी परिसर, काठमाडौँमा परेको थियो। सरकारी वकिल कार्यालय, काठमाडौँले समेत बोलाएर छलफल गरेपछि प्रहरी परिसरमै सेयरबापतको रकम फिर्ता गर्ने प्रतिबद्धता जनाएर कारबाहीबाट उम्किएकी पिंकी त्यसपछि सम्पर्कविहीन बनेकी छन्।
पछिल्लो समय उनले फोनसमेत उठाउन छाडेकी छन्। पहिचानले उनीसँग पटकपटक सम्पर्क गर्ने प्रयास गरिरहेको भए पनि हालसम्म उनले फोन रिसिभ गरेर ‘हेलो’ समेत भनेकी छैनन्। सेयरबापतको रकम बुझाएका जिएसएम समुदायका पीडितहरूले सोसाइटीकै अध्यक्ष पिंकीबाट आफूहरू ठगीमा परेको गुनासो गरिरहेका छन्।सुबेन ढकालले पनि जवाफ दिन अटेरी गर्दै आएकी छन्। जिल्ला प्रशासन कार्यालय काठमाडौँ र राष्ट्रिय सूचना आयोगलाई समेत एक वर्षदेखि जवाफ नदिएको तथ्य यसअघि नै सार्वजनिक भैसकेको छ।
सुबेनले यतिबेला रास्वपा सांसद भूमिका श्रेष्ठलाई आफूमाथिको छानबिन रोकाउन प्रयोग गरेको आरोप जिएसएम समुदायले लगाएको छ। भूमिकाले पनि संसदमा जिएसएम समुदायको आवाज सदन थर्काउने गरी उठाउन सकेकी छैनन्। भूमिकाले ब्लु डायमन्ड सोसाइटीको छानबिन गर्नुपर्ने उजुरी डिसमिस पार्न सम्पूर्ण शक्ति खर्चिरहेको आरोप समेत लागेको छ।
सुबेन ढकालले निमित्तबाट फुल पावर लिएर ब्लु डायमन्ड सोसाइटीको सुरुवातदेखि १७–१८ वर्षको अभियानलाई अन्तै मोड्ने र समाजमा विवाद ल्याएपछि लैङ्गिक तथा यौनिक अल्पसंख्यकको अधिकार संविधानमा लेखाउन सफल पहिलो संविधानसभा सदस्य सुनिल बाबु पन्त नेपाल फर्किएका थिए।
सुबेनले लिङ्ग परिवर्तन नगरी ‘अन्य’ पहिचानमा नागरिकता लिएका व्यक्तिहरूलाई पनि जन्मदर्तामा भएको पहिचान परिवर्तन गर्न लगाउने अभियान चलाएको आरोप छ। ललितपुर महानगरपालिका वडा नं. १६ मा छोराको जन्मदर्ता भएका रुक्शना कपालीलाई छोरीको जन्मदर्ता र महिलाको नागरिकता लिनका लागि सञ्चालन गरिएको प्रोजेक्ट अमेरिकी सहयोग नियोग युएसएआइडीले रकम फिर्ता लगे पछि रोकिएको तथ्यले प्रस्ट पारिसकेको समुदायका सदस्यहरूले बताएका छन्।
रुक्शनाले विभिन्न अदालतमा रिट दायर गरेर पुरुषलाई महिलाको र महिलालाई पुरुषको नागरिकता दिने आदेश गराएको दाबी गरिएको छ। तर जिएसएम समुदायभित्र भने २०६४ साल पुस ६ गते सर्वोच्च अदालतले दिएको तेस्रोलिंगी पहिचानको आदेश र त्यसको कार्यान्वयनका क्रममा २०६९ साल पुस १६ गते गृह मन्त्रालयले जारी गरेको ‘अन्य’ पहिचानमा नागरिकता दिने व्यवस्थाबाट समुदायले आफ्नो लैङ्गिक पहिचानअनुसार नागरिकता प्राप्त गर्न थालेको अवस्थामा फेरि पुरुष र महिलाकै पहिचानमा फर्काउने अभियानले अन्योल सिर्जना गरेको गुनासो छ।
नागरिकता ऐनमा संशोधन र ‘अन्य’ पहिचान भएका व्यक्तिका लागि लोक सेवा आयोगमा आरक्षणको व्यवस्था कार्यान्वयन सुरु भएपछि पहिचानको मुद्दा झनै महत्त्वपूर्ण बनेको छ। पुरुष वा महिलाको नागरिकता लिएका व्यक्तिहरू अहिले ‘अन्य’ पहिचानको नागरिकता माग गर्दै जिल्ला प्रशासन कार्यालयदेखि गृह मन्त्रालयसम्म निवेदन दिन थालेका छन्।
समुदायका सदस्यहरूका अनुसार ‘अन्य’ पहिचानमा नागरिकता र त्यसका आधारमा सरकारी सेवामा आरक्षणको अवसर प्राप्त गर्ने व्यवस्था कार्यान्वयनतर्फ अघि बढिरहेका बेला, लिङ्ग परिवर्तन गरेर वा जन्मका आधारमा महिला भए पुरुष र पुरुष भए महिला पहिचान माग्न लगाउने अभियानले समुदायलाई फेरि पहिचानकै विवादमा रिंग्याइरहेको छ। उनीहरूका अनुसार सुबेन ढकालको यही विवादित योजनाले कानुनी रूपमा तेस्रोलिंगी र ‘अन्य’ पहिचानलाई स्थापित गर्ने प्रयास, नागरिकता ऐनमा भएको संशोधन र लोक सेवामा आरक्षणको व्यवस्था कार्यान्वयनमा धक्का पुगेको छ।
सुबेन ढकालको उल्टो अभियानमा लाग्दा आफ्नो पहिचान नै गुमेको अनुभूति जिएसएम समुदायका केही सदस्यले गरेका छन्। समस्याको गुनासो सांसद भूमिकासम्म पुगे पनि उनले यो वास्तविक समस्या सदनमा नउठाएको गुनासो छ।
यही अवस्थामा चञ्चलाले समुदायको एकीकृत र एकताबद्ध आवाज उठाइदिन रास्वपाकै सांसद आशिका तामाङसँग गुहार मागेकी हुन्। वर्षौँदेखि यही अवस्थाबाट गुज्रिरहेको समुदायको पीडा, पहिचान, कानुनी अधिकार र भविष्यको प्रश्न संसदमा बलियोसँग उठोस् भन्ने उनको अपेक्षा छ।
उनले आफू विगतमा सडकमा ताली बजाएर र मागेर जीवन धान्न बाध्य भएको अवस्थाबाट नीति, नियम र कानुन संशोधन गर्ने ठाउँसम्म पुगेकी सांसद आशिकाबाट जिएसएम समुदायले ठोस आवाजको अपेक्षा गरेको उल्लेख गरेकी छन्।
‘हामी तपाईँको मुखबाट सदनमा जिएसएम समुदायको पीडा, अधिकार र भविष्यका विषयमा बोलेको सुन्न चाहन्छौँ,’ उनले सांसद आशिकासँग आशा व्यक्त गरेकी छन्।
उनले भनेकी छन्, ‘समय आएको छ- ताली बजाएर बाँच्न बाध्य बनाउने व्यवस्था होइन, अधिकारसहित सम्मानपूर्वक बाँच्ने वातावरण निर्माण गर्ने। माननीय आशिकाज्यू, जिएसएम समुदाय तपाईँको आवाजको प्रतीक्षामा छ।’




प्रतिक्रिया