ओलीलाई हटाएरै छाड्छौँ, सरकार कूटनीतिक रूपमा असक्षम भयोः एमाले नेता कृष्ण केसी


काठमाडौँ । नेकपा एमालेका नेता कृष्ण केसीले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई नेतृत्वबाट हटाएरै छाड्ने दाबी गरेका छन्। रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै उनले नेपाली कांग्रेस र एमालेजस्ता ऐतिहासिक विरासत बोकेका दलहरू आन्तरिक विवादमै रुमल्लिँदा देश र जनताका पक्षमा प्रभावकारी भूमिका खेल्न नसकेको बताए।

आन्तरिक लोकतन्त्रको सुदृढीकरणमा प्रमुख दलहरू चुक्दा बाढीपहिरोपीडितको उद्धार र राहतमा समेत स्थापित राजनीतिक दलहरूको ध्यान पुग्न नसकेको उनले टिप्पणी गरे।

कूटनीतिक क्षेत्रमा सरकार पूर्णरूपमा असक्षम साबित भएको आरोप लगाउँदै केसीले भने, ‘संयुक्त राष्ट्रसङ्घजस्ता अन्तर्राष्ट्रिय मञ्चमा नेपालले महत्त्वपूर्ण भूमिका खेल्दै आएको इतिहास छ। विश्वका ठूला शक्ति राष्ट्रहरूबीच प्रतिस्पर्धा चलिरहेका बेला स्वीट्जरल्यान्डले जस्तै नेपाल जस्ता साना देशहरूले असंलग्न र सन्तुलित भूमिका खेल्नुपर्ने हुन्छ, तर वर्तमान सरकार आएपछि नेपाल कूटनीतिक रूपमा चुकेको छ।’

नेता केसीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको चीन भ्रमण रोकिनुलाई पनि सरकारको कूटनीतिक कमजोरीका रूपमा अर्थ्याए। साथै, ब्रिक्स सम्मेलनमा नेपालको उपस्थिति हुन नसक्नुले कूटनीतिक विफलता उजागर गरेको उनको भनाइ थियो।

राष्ट्रसंघमा प्रधानमन्त्री बालेनले वातावरण परिवर्तनका कारण नेपालले भोग्नुपरेको हालैको विनाशबापत क्षतिपूर्ति माग्नुपर्नेमा जोड दिए ।

सरकारको शैलीप्रति कडा आपत्ति जनाउँदै उनले आलोचना गर्नेहरूको मुख थुन्ने काम भइरहेको आरोप लगाए। व्यवसायी दुर्गा प्रसाईंमाथि भएको धरपकडको विरोध गर्दै उनले सरकार मिडिया र आलोचकहरूप्रति पूर्वाग्रही बनेको दाबी गरे। ‘सरकारको यस्तै रवैया कायम रहे देशमा अर्को राजनीतिक वा सामाजिक आँधीबेहरी आउन सक्छ,’ उनले चेतावनी दिए।

बजारमा कालोबजारी र मूल्यवृद्धि अनियन्त्रित बनेको उल्लेख गर्दै केसीले मन्त्री फेरेर मात्रै समस्याको समाधान नहुने स्पष्ट पारे। उनले मन्त्री परिवर्तनभन्दा पनि सरकारको नीति नै पूर्णरूपमा परिवर्तन हुनुपर्नेमा जोड दिए।