प्रधानमन्त्रीसँग बैठक बस्न पुगेका गाउँपालिका अध्यक्ष सिंहदरबारबाटै परे पक्राउ


काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङ सिंहदरबारबाट पक्राउ परेका छन्।

बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूसँग प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आयोजना गरेको बैठकमा सहभागी भएका तामाङलाई बैठक सकिएलगत्तै प्रहरीले नियन्त्रणमा लिएको हो।

काठमाडौं प्रहरीका प्रवक्ता एसपी दानबहादुर थापाका अनुसार तामाङविरुद्ध अरुण अर्यालको जाहेरीका आधारमा बैंकिङ कसुरसम्बन्धी मुद्दा दर्ता भएको थियो। दरबारमार्ग प्रहरी वृत्तमा दर्ता भएको उक्त मुद्दामा तामाङलाई पक्राउ गर्न अनुमति मागिएको थियो। सोहीअनुसार उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

प्रहरीले तामाङलाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतबाट एक दिनअघि नै अनुमति लिएको थियो।