दुर्गा प्रसाईंकाे आराेप – ‘सरकारले ममाथि ज्यादती गर्‍यो’


काठमाडौँ । मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले आफूलाई सरकारले अन्यायपूर्ण व्यवहार गरेको आरोप लगाएका छन्।

एयरपोर्टमा पत्रकार सम्मेलन गर्ने तयारी गरे पनि सरकारले त्यसका लागि अनुमति नदिएको प्रसाईंले बताए। पत्रकार सम्मेलन गर्न नपाएपछि उनले आफ्नै निवासमा सञ्चारकर्मी बोलाएर आफ्ना धारणा सार्वजनिक गरेका हुन्।

पत्रकार सम्मेलनका क्रममा प्रसाईंले जेनजी आन्दोलनका समयमा संसद्, सिंहदरबारलगायतका सरकारी तथा सार्वजनिक संरचनामा भएको तोडफोड र त्यसपछाडिको षड्यन्त्रबारे आफूसँग थुप्रै भिडियो प्रमाण रहेको दाबी गरे। ती भिडियोहरू छिट्टै सार्वजनिक गर्ने उनले बताए ।

आफूमाथि सरकारले ज्यादती गरेको आराेप लगाउँदै प्रसाईंले यस विषयमा विज्ञहरूले समेत आवाज उठाउनुपर्ने बताए।

प्रधानमन्त्री बालेन र गृहमन्त्री सुधन गुरुङप्रति व्यक्तिगत रूपमा आफूमा कुनै रिस नरहेको पनि प्रसाईंले स्पष्ट पारे। उनीहरूले राम्रो काम गरे आफूले विरोध नगर्ने भन्दै उनले भने, “राम्रो काम गर्नुभयो भने मेरो विरोध हुँदैन।”