मुस्ताङमा ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु


काठमाडौं । मुस्ताङमा आजदेखि ‘घरपझोङ जलवायु सम्मेलन २०८३’ सुरु भएकाे छ । सम्मेलनको आज कृषि वन तथा पर्यावरणमन्त्री गीता चौधरीले उद्घाटन गरेकी हुन् ।

सम्मेलनमा भाग लिन ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका जनप्रतिनिधि सोमबार साँझ मुस्ताङ आइपुगेका छन् । कार्यक्रममा वरिष्ठ पत्रकार तथा स्वतन्त्र नागरिक अभियान नेपालका संयोजक ऋषि धमला पनि सहभागि छन् ।

सातै प्रदेशका महानगर, उपमहानगर, नगर र गाउँपालिकाका जनप्रतिनिधिसहित दुई हजारभन्दा बढी अतिथि मुस्ताङ आइपुगेको घरपझोङ गाउँपालिकामा प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिए ।  

सम्मेलनको व्यवस्थापनका लागि पालिकाअन्तर्गतका पाँचै वडाका गाउँ समाज, आमा समूह, युवा क्लब र अन्य संघसस्थालाई परिचालन गरिएको गाउँपालिका उपाध्यक्ष जमुना थकालीले जानकारी दिइन् ।  

सम्मेलनस्थलभित्र २८ फिट उचाइको जलवायु परिवर्तनको असरसम्बन्धी जनचेतना झल्काउने पृथ्वी रोइरहेको बेलुनको गोलाकार आकृति राखिएको छ । 

मुस्ताङका कृषि उत्पादनको प्रचारप्रसार गर्ने उद्देश्यका साथ पचासभन्दा बढी स्टल राखिएको गाउँपालिकाका कृषि शाखा अधिकृत रोशन थकालीले जानकारी दिए । 

दुई दिनसम्म चल्ने सम्मेलनले जलवायु परिवर्तनको असरसम्वन्धी घोषणापत्र जारी गर्नेछ ।