काठमाडौं । नुवाकोटको किस्पाङ गाउँपालिकाका अध्यक्ष वीरबल तामाङविरुद्ध विभिन्न प्रहरी कार्यालयमा बैंकिङ कसुरसम्बन्धी १० वटा मुद्दा रहेको खुलेको छ।
सोमबार प्रधानमन्त्री बालेन शाहसँग बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिहरूको छलफलमा सहभागी भएर सिंहदरबारबाट बाहिरिने क्रममा पक्राउ परेका तामाङविरुद्ध ठूलो रकमका बैंकिङ कसुर तथा ठगीसम्बन्धी मुद्दा रहेको प्रहरीले जनाएको छ।
काठमाडौं जिल्ला प्रहरी परिसरले अनुसन्धान पूरा गरेर तामाङविरुद्ध ३ करोड ४ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दा सरकारी वकिल कार्यालयमा बुझाइसकेको छ। त्यस्तै, १ करोड ३ लाख ३० हजार रुपैयाँ बराबरको अर्को मुद्दाको अनुसन्धान पनि सकेर मिसिल सरकारी वकिल कार्यालयमा पठाइसकिएको छ।
यसैगरी ४८ लाख रुपैयाँ र ९५ लाख रुपैयाँ बराबरका थप दुई बैंकिङ कसुरका मुद्दाको मिसिलसमेत पेश भइसकेको प्रहरीले जनाएको छ।
तामाङविरुद्ध २ करोड ५६ लाख रुपैयाँ बराबरको ठगीसम्बन्धी मुद्दा पनि काठमाडौं परिसरबाट सरकारी वकिल कार्यालयमा पठाइएको काठमाडौं प्रहरी परिसरका एसपी दानबहादुर थापाले जानकारी दिए।
प्रहरीका अनुसार भक्तपुर परिसरमा २ लाख रुपैयाँ, जनसेवा प्रहरी वृत्तमा ७५ लाख रुपैयाँ, दरबारमार्ग वृत्तमा ५ लाख २५ हजार रुपैयाँ, लैनचौर वृत्तमा १९ लाख ८० हजार रुपैयाँ बराबरका बैंकिङ कसुरका मुद्दा दर्ता छन्। महाराजगञ्ज प्रहरी वृत्तमा पनि तामाङविरुद्ध बैंकिङ कसुरको मुद्दा रहेको प्रहरीले जनाएको छ।




प्रतिक्रिया