बाढीपहिरोमा बेपत्ता परिवारको अवस्था दयनीय छ, सरकारले के गर्छ ?- सांसद बोहोरा


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद दीपक कुमार बोहोराले रसुवा बाढीपहिरोपछि बेपत्ता भएका नागरिकका परिवारको अवस्था दयनीय रहेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्।

आज प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद बोहोराले सरकारी तथ्यांकअनुसार अझै ५ हजार १३० जना बेपत्ता रहेको जानकारी गराए। उनका अनुसार कञ्चनपुरका २६ जना र आफ्नो निर्वाचन क्षेत्रका १४ जना अझै सम्पर्कविहीन छन्।

आफ्नो निर्वाचन क्षेत्रका प्रभावित परिवारको अवस्था बुझ्न आफू पछिल्लो समय घर–घरमा पुग्ने प्रयास गरेको उनले बताए। विपद्का बेला नेपाली सेना र नेपाल प्रहरीले आफ्ना संगठनका तर्फबाट प्रभावित परिवारलाई साथ दिने र जिम्मेवारी लिने प्रतिबद्धता जनाए पनि सर्वसाधारण नागरिकका परिवारसम्म भने राज्यको उपस्थिति नदेखिएको उनको बताए ।

‘प्रशासनका मान्छे पालिकाका मान्छे पुगे होला भन्छन्, नगर प्रमुख प्रशासन पुगे होला भन्छन्,’ उनले भने ।

सांसद बोहोराले शुक्लाफाँटाका एक परिवारको अवस्थासमेत प्रतिनिधिसभामा सुनाए। उनका अनुसार उक्त परिवारका एक सदस्यका दुवै मिर्गौला फेल भएका छन् भने उनका छोरा अभिषेक डँहोरासमेत लाङटाङ हाइड्रोपावरमा बेपत्ता छन्।

परिवारमा औषधि किनिदिने व्यक्ति नभएको र दैनिक गुजारा चलाउनसमेत समस्या रहेको उनले बताए।

‘औषधि किन्दिने मान्छे छैन। बिहान–साँझ खाने छाक कसरी टार्ने भन्ने अवस्था छैन,’ उनले भने।

बेपत्ता नागरिकका परिवारको यस्तो अवस्थाप्रति सरकारले के गरिरहेको छ ? भन्ने प्रश्न सांसद बोहोराले गरे ।