काठमाडौं । नेकपा एमालेकी संसदीय दलको उपनेता पद्मा अर्यालले विपद्का समयमा सरकार एक्लैले सबै काम गर्न सक्छु भन्ने मानसिकता त्याग्नुपर्ने बताएकी छन्।
मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद अर्यालले बाढीपछिको उद्धार तथा राहतका लागि सरकारले गर्नुपर्ने केही तत्कालीन काम प्रभावकारी रूपमा गर्न नसकेको टिप्पणी गरिन्।
उनले विपत्तिपछि आवश्यक सहयोग जुटाउन सरकारले सार्वजनिक अपिलसँगै कूटनीतिक पहल गर्नुपर्ने भए पनि त्यसतर्फ पर्याप्त ध्यान नदिएको बताइन्। त्यस्तै, देशभित्रै रहेका इन्जिनियर, प्राविधिक तथा विभिन्न क्षेत्रका विज्ञलाई परिचालन गर्न पनि सरकार चुकेको उनको भनाइ थियो।
अर्यालले विपद्को अनुभवबाट पाठ सिक्दै सरकारले तत्काल सर्वदलीय छलफल गर्नुपर्नेमा त्यसो हुन नसकेको बताइन्।
प्रधानमन्त्रीलाई लक्षित गर्दै उनले विपद्को समयमा सबै राजनीतिक दल र पक्षको उद्देश्य देश र जनताको हित नै भएको उल्लेख गरिन्।
“विपत्तिको बेला सरकार एक्लै काफी छु भन्ने घमण्ड गर्नु हुँदैन,” अर्यालले भनिन् ।
उनले प्रधानमन्त्रीलाई सम्बोधन गर्दै देश र जनताको माया सबैलाई बराबर हुने बताइन् । उनले भनिन्, “प्रधानमन्त्रीज्यू, देश र जनताको माया तपाईंलाई बढी र हामीलाई कम भन्ने हुँदैन।”




प्रतिक्रिया