काठमाडौ । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तन सम्बन्धी विषय अध्ययन गर्न गठन गरिने संसदीय विशेष समितिको कार्यादेश (टीओआर) तय गर्ने विषयमा दलहरूबीच सहमति जुट्न सकेको छैन।
सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का संसदीय दलका उपनेता गणेश पराजुलीको अग्रसरतामा बिहीबार बसेको विभिन्न दलका नेताहरूको छलफलमा विशेष समितिको संरचना, कार्यअवधि र जिम्मेवारीबारे छलफल भए पनि ठोस निष्कर्ष ननिस्किएको हो।
बैठकमा सहभागी नेकपा एमालेकी सांसद पद्मा अर्यालले समितिको आकार, अवधि र कार्यक्षेत्रका विषयमा छलफल भएको तर बिहीबार सहमति हुन नसकेको बताइन्। ‘संसदीय विशेष समिति कस्तो निर्माण गर्ने, कति समयका लागि हुने र के–के काम गर्ने भन्नेमा छलफल भयो तर आज सहमति भएन,’ उनले भनिन्, ‘अर्को बैठकमा सहमति जुटाउनेबारे कुराकानी भएको छ।’
नेपाली कांग्रेसका सांसद निष्कल राईका अनुसार कांग्रेसले संसदीय विशेष समिति सानो आकारको बनाउन प्रस्ताव गरेको छ। उनका अनुसार समितिको कार्यअवधि सुरुमा तीन महिना राख्ने र आवश्यक परे पछि थप गर्न सकिने प्रस्ताव गरिएको छ।
‘हामीले तीन महिनाको समिति बनाऔँ, आवश्यक पर्यो भने पछि समय थपौँ भनेका छौँ,’ राईले भने, ‘यसमा पक्ष–प्रतिपक्षभन्दा पनि विपद्मा सबै एक हुनुपर्छ।’ तर समितिमा रास्वपाले आफ्नो संसदीय उपस्थितिको संख्यात्मक आधारमा प्रतिनिधित्व हुनुपर्ने धारणा राखेपछि सहमति जुट्न नसकेको राईले बताए।
कांग्रेसले भने समितिको गठनमा ५ः१ को अनुपात अपनाउन प्रस्ताव गरेको जनाएको छ। ‘फाइभ इज टु वानका आधारमा समिति गठन गरौँ भनेर प्रस्ताव गरेका थियौँ। संयोजक पनि ग्राभिटी भएको नेता बसौँ भन्दा उहाँहरूले संख्यात्मक आधारमा हुनुपर्छ भनेकाले निष्कर्षमा पुग्न सकेनौँ,’ राईले भने।
दलहरूबीच समितिको आकार, प्रतिनिधित्वको अनुपात, संयोजक चयन, कार्यअवधि तथा कार्यक्षेत्रका विषयमा थप छलफल आवश्यक देखिएको छ। बिहीबारको छलफल निष्कर्षविहीन भएपछि अर्को बैठकबाट सहमति जुटाउने तयारी गरिएको सहभागी नेताहरूले बताएका छन्।




प्रतिक्रिया