लुम्बिनी सरकारले संविधान दिवस दुई दिन मनाउने


बुटवल । लुम्बिनी प्रदेश सरकारले संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ विभिन्न कार्यक्रम गरी दुई दिन मनाउने भएको छ ।

प्रदेश सरकारले असोज २ र ३ गते सरसफाइ, राष्ट्रिय झण्डा सजावट तथा दीप प्रज्वलनलगायतका कार्यक्रम गर्ने निर्णय गरेको हो ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बिहीबार बसेको बैठकले संविधान दिवस तथा राष्ट्रिय दिवस मनाउन मुख्यमन्त्रीको अध्यक्षतामा मूल समारोह समिति गठन गरेको छ ।

बैठकले असोज २ गते बिहान प्रदेशस्थित सबै सरकारी निकायले सरसफाइ कार्यक्रम सञ्चालन गर्ने भएको छ । प्रदेश राजधानी परिसरको सरसफाइको समन्वय आन्तरिक मामिला, कानुन, उद्योग तथा यातायात मन्त्रालयले गर्ने निर्णय भएको मुख्यमन्त्रीका प्रेस सल्लाहकार दशरथ घिमिरेले बताए ।

सोही दिन प्रदेशस्थित सरकारी कार्यालयमा निर्धारित आकारका राष्ट्रिय झण्डा मर्यादापूर्वक राखेर कार्यालय सजाउने तथा साँझ दीप प्रज्वलन गर्ने कार्यक्रम तय गरिएको छ । प्रदेशवासीलाई पनि आ–आफ्नो घरमा दीप प्रज्वलन गर्न अनुरोध गर्ने निर्णय भएको छ ।

असोज ३ गते पनि सरकारी कार्यालयमा राष्ट्रिय झण्डा राख्ने, कार्यालय सजाउने तथा साँझ दीप प्रज्वलन गरिनेछ । जिल्लास्थित सरकारी कार्यालयले सम्बन्धित जिल्लामा आयोजना गरिने संविधान दिवससम्बन्धी कार्यक्रममा अनिवार्य सहभागिता जनाउने व्यवस्था मिलाउने निर्णय बैठकले गरेको छ ।