काठमाडौ । नेपाली कांग्रेसले १५औँ महाधिवेशनको अधिवेशन प्रक्रियामा पार्टीका सबै तहका सदस्यलाई सहभागी गराउने निर्णय गरेको छ ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै पार्टी प्रवक्ता देवराज चालिसेले सदस्यताकै कारण कुनै पनि नेता–कार्यकर्ता महाधिवेशन प्रक्रियाबाट बाहिरिन नपर्ने गरी संगठनात्मक व्यवस्था मिलाइएको जानकारी दिए ।
उनका अनुसार भदौ २८ गते बसेको केन्द्रीय कार्यसमिति बैठकले सदस्यता नवीकरण भएका तथा अधिवेशन प्रक्रियामा जोडिएका सबै सदस्यलाई महाधिवेशनमा सहभागी गराउने निर्णय गरिसकेको छ । ‘सदस्यताको नाममा अब कुनै पनि साथीहरू अधिवेशनबाट वञ्चित हुने अवस्था रहँदैन,’ प्रवक्ता चालिसेले भने ।
कांग्रेसले पूर्वसभापति शेरबहादुर देउवाको नेतृत्वमा निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी तथा सदस्यलाई पनि आगामी महाधिवेशनमा सक्रिय रूपमा सहभागी गराउने व्यवस्था गरेको जनाएको छ । पार्टी विधानअनुसार वडा अधिवेशनदेखि केन्द्रीय तहसम्मका सबै अधिवेशनमा समानुपातिक र सहभागितामूलक वातावरण निर्माण गर्ने दिशामा बैठकले जोड दिएको चालिसेले बताए ।
प्रवक्ता चालिसेका अनुसार बैठकमा पार्टीको आन्तरिक एकता, संगठन सुदृढीकरण तथा राष्ट्र निर्माणमा कांग्रेसको भूमिकालगायत विषयमा छलफल भएको छ । उनले १५औँ महाधिवेशनलाई व्यवस्थित र उत्साहजनक रूपमा सम्पन्न गर्न अधिवेशनको कार्यतालिका कार्यान्वयनमा विशेष ध्यान दिइएको बताए ।
‘१५औँ महाधिवेशनलाई एउटा महोत्सवका रूपमा सम्पन्न गर्न हामीले कार्यतालिकालाई अझ चुस्त र व्यवस्थित बनाउँदै लगेका छौँ । यसले पार्टीलाई थप एकताबद्ध बनाउने छ,’ उनले भने ।




प्रतिक्रिया