कांग्रेस महाधिवेशन : गंगाजमुना गाउँपालिका सभापतिमा राजकुमार बस्नेतको उम्मेदवारी घोषणा


धादिङ । नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका कार्यसमितिको सभापति पदका लागि राजकुमार बस्नेत (राज) ले उम्मेदवारी घोषणा गरेका छन्।

नेपाली कांग्रेसको आसन्न १५औँ महाधिवेशनलाई लक्षित गर्दै बस्नेतले गाउँपालिका सभापति पदमा आफ्नो उम्मेदवारी घोषणा गरेका हुन्। उनले आफ्नो राजनीतिक यात्रा पद र अवसरका लागि नभई विचार, निष्ठा, सिद्धान्त र निरन्तर सामाजिक सेवामा आधारित रहेको बताएका छन्।

बस्नेतले आफू नेपाली कांग्रेसको राजनीतिक संस्कार र विचार बोकेको परिवारमा हुर्किएको उल्लेख गर्दै बाल्यकालदेखि नै कांग्रेससँग जोडिएको बताए ।

ऊनी विद्यार्थी जीवनदेखि नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल तथा भूतपूर्व सैनिक संघमा आबद्ध भएर लोकतान्त्रिक आन्दोलन र संगठन निर्माणमा सक्रिय रहेका थिए ।

सामाजिक तथा राजनीतिक गतिविधिमा निरन्तर सक्रिय रहँदै आएका बस्नेतले कार्यकर्ताको सुख–दुःखमा साथ दिने, सहयोगी र निष्ठावान नेतृत्वका रूपमा आफूलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

उनले सभापतिको जिम्मेवारीलाई केवल पदका रूपमा नभई कार्यकर्ताको भावना बुझ्ने, संगठनलाई मजबुत बनाउने र पार्टीलाई जनताको घरदैलोसम्म जोड्ने अवसरका रूपमा लिएको बताए ।

“आजको आवश्यकता पदमा पुगेर नेतृत्व गर्ने मात्र होइन, सबैलाई समेटेर संगठनलाई अझ बलियो बनाउने नेतृत्व हो,” बस्नेतले भने ।

गुट–उपगुटभन्दा माथि उठेर अग्रजको अनुभव र युवा पुस्ताको ऊर्जालाई एकसाथ अघि बढाउँदै गंगाजमुना गाउँपालिकामा नेपाली कांग्रेसलाई सुदृढ, गतिशील, अनुशासित र जनमुखी संगठनका रूपमा स्थापित गर्ने आफ्नो लक्ष्य रहेको उनले बताए ।

बस्नेतले “व्यक्तिभन्दा संगठन ठूलो, पदभन्दा जिम्मेवारी ठूलो र राजनीतिभन्दा जनताको विश्वास ठूलो” भन्ने मान्यताका साथ अघि बढ्नेसमेत प्रतिबद्धता व्यक्त गरे ।