काठमाडौँ । रसुवाको हाकु र मैलुङ क्षेत्रमा निर्माणाधीन अपर त्रिशूली–१ जलविद्युत आयोजनाको सुरुङमा पाँच जनाको शव फेला परेको छ।
उद्धारमा खटिएका टोलीका अनुसार आयोजनाको सुरुङभित्र जालीमा अड्किएको अवस्थामा शवहरू देखिएका हुन्।
रसुवाका डीएसपी अशोक थापाका अनुसार सुरुङभित्र जालीका कारण शव निकाल्न कठिनाइ भइरहेको छ। उनका अनुसार प्रहरीको टोलीसमेत घटनास्थलमा पुगिसकेको छ र जाली काटेर शव निकाल्ने तयारी भइरहेको छ।
उक्त आयोजनाको सुरुङबाट यसअघि एक जना चिनियाँ नागरिकको जीवितै उद्धार गरिएको थियो। उद्धारकर्मीहरूले भदौ २० गते सुरुङको करिब २२५ मिटरभित्रबाट चिनियाँ नागरिक लुआइतोको उद्धार गरेका थिए।
आयोजनामा अझै ३३२ जना सम्पर्कविहीन रहेको बताइएको छ। उनीहरूको खोजी तथा उद्धारका लागि सुरक्षा निकायका टोलीले निरन्तर काम गरिरहेका छन्।




प्रतिक्रिया