जलवायु क्षतिपूर्तिबारे राष्ट्रसंघमा आवाज उठाउन बालेनलाई धमलाको सुझाव : दलहरूमा युवा सशक्तीकरणको माग


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले देशको समग्र राजनीति, जलवायु न्याय र जनजीविकाका मुद्दामा पुन: एकपटक आफ्नो दूरदर्शी र शक्तिशाली उपस्थिति दर्ता गराएका छन्। रिपोर्टर्स क्लब नेपालमा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले अन्तर्राष्ट्रिय मञ्चमा नेपालको अधिकार, दलहरूभित्र युवा विद्रोह र गैरदलीय स्थानीय शासन प्रणालीबारे अत्यन्तै सन्तुलित र आक्रामक रणनीति अघि सारेका छन्।

गम्भीर बन्दै गएको जलवायु परिवर्तनको विश्वव्यापी असरबारे बोल्दै अध्यक्ष धमलाले नेपालले कार्बन उत्सर्जनमा शून्यप्राय योगदान गरेर पनि भोटेकोशी बाढीजस्ता विनाशकारी विपद्को भारी बोक्नुपरेको प्रति गम्भीर चिन्ता व्यक्त गरे। संयुक्त राष्ट्रसंघको उच्चस्तरीय मञ्चमा प्रधानमन्त्री बालेनले दृढताका साथ नेपालको क्षतिपूर्तिको मुद्दा उठाउनुपर्ने स्पष्ट मार्गचित्र धमलाले पेस गरे।

“नेपालले विश्वका धनी राष्ट्रहरूको प्रदूषणको सजाय भोग्न सक्दैन,” धमलाले कडा शब्दमा भने, “प्रधानमन्त्री बालेनले अन्तर्राष्ट्रिय मञ्चमा निर्भीक भई भोटेकोशी बाढीले पारेको क्षतिको सोझै क्षतिपूर्ति माग्नैपर्छ। यो सिङ्गो नेपाल र नेपाली जनताको अधिकारको विषय हो।”

देशको भावी दिशा तय गर्न युवा पुस्ताको भूमिका निर्णायक हुनेमा जोड दिँदै धमलाले एमाले, नेकपालगायतका स्थापित राजनीतिक दलहरूलाई आफ्नो नेतृत्व प्रणाली अब युवालाई सुम्पन सुझाव दिए । कांग्रेस, एमाले र नेकपा जस्ता दलहरुले बढीभन्दा बढी युवालाई स्थान दिनुपर्नेमा धमलाको जोड छ ।

यस्तै, स्थानीय तहलाई दलीय भागबण्डा र राजनीतिक खिचातानीबाट मुक्त राखी पूर्णतः ‘गैरदलीय’ बनाउनुपर्ने आफ्नो दीर्घकालीन एजेन्डालाई पुनः दोहोर्‍याउँदै अध्यक्ष धमलाले आगामी स्थानीय तहको निर्वाचनमा देशका ७ सय ५३ वटै स्थानीय तहमा ‘स्वतन्त्र नागरिक अभियान’का तर्फबाट निष्कलंक, क्षमतावान् र गैरदलीय युवा उम्मेदवारहरू मैदानमा उतारिने दाबी गरे।