काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाहले जेन्जी उमेर समूहका सांसदहरूलाई आफैँ उदाहरण बनेर नवीन सोचका साथ आफ्नै पुस्ताका लागि स्वदेशभित्रै रोजगारीका अवसर सिर्जना गर्न आह्वान गरेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आयोजित जेन्जी सांसदहरूसँगको अन्तरक्रियामा प्रधानमन्त्री शाहले जनजीविकाका आधारभूत समस्या समाधानसँगै आफ्नो पुस्तालाई आत्मनिर्भर बनाउन अग्रसर हुनुपर्नेमा जोड दिए।
राजनीतिलाई जीवनयापनको पेसा नबनाई आम्दानीको छुट्टै व्यावसायिक आधार खडा गर्न र समाजका लागि प्रेरणाको स्रोत बन्न प्रधानमन्त्रीले आग्रह गरेका छन् । यस्तै, पुराना तथा अव्यावहारिक सोच त्यागेर स्थलगत अध्ययन, अनुसन्धान र सूचना–प्रविधिको उच्चतम प्रयोग गर्न प्रम बालेनले सुझाव दिएका छन् । उनले जेनजी सांसदहरुलाई समस्या औँल्याउने मात्र नभई व्यावहारिक समाधान खोज्ने शैली अपनाउन पनि आग्रह गरेका छन् ।
प्रधानमन्त्रीको उक्त आग्रहलाई सहभागी जेन्जी सांसदहरूले अभिभावकीय मार्गदर्शनका रूपमा ग्रहण गरेका छन्। उनीहरूले आफ्नै पुस्तालाई आत्मनिर्भर बनाउन र देशभित्रै नयाँ अवसरहरू निर्माण गर्ने कार्यमा सक्रियताका साथ जुट्ने प्रतिबद्धता व्यक्त गरेका छन्।




प्रतिक्रिया