राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाको माग गर्दै असोज ३ मा काठमाडौँमा प्रदर्शन हुने


काठमाडौँ । वर्तमान संविधान नेपाल र नेपालीको इच्छाविपरीत बनेको दाबी गर्दै शाही युवा शक्ति नेपालसहित विभिन्न पक्षले असोज ३ गते (संविधान दिवस) का दिन विरोध कार्यक्रम गर्ने घोषणा गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै शाही युवा शक्ति नेपालका अध्यक्ष पशुपति खड्काले २०७२ को संविधान नेपालको माटो सुहाउँदो नभएको बताए । संविधान जारी हुनुअघि जनतासँग सुझाव माग्दा हिन्दूराष्ट्र र राजसंस्था कायम राख्न बहुसंख्यकले मत दिए पनि विदेशीको इशारामा त्यसलाई बेवास्ता गरिएको उनको आरोप थियो ।

कार्यक्रममा संगठनका उपाध्यक्ष दिल श्रेष्ठले राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापनाका लागि देशभर हस्ताक्षर अभियान चलिरहेको जानकारी दिँदै असोज ३ गते गणतन्त्र तथा संविधान दिवसको विरोध गर्ने बताए । “राजा रहे मात्रै सबै नेपाली नागरिक रहन्छौँ, नत्र रहँदैनौँ,” उनले भने ।

त्यस्तै, केन्द्रीय सदस्य सुजन पौडेलले वर्तमान संविधानले हिन्दू धर्म, भाषा र संस्कृतिलाई दबाउन खोजेको दाबी गर्दै असोज ३ गते रत्नपार्कमा संविधान दिवसविरुद्ध प्रदर्शन गरिने जानकारी दिए ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का केन्द्रीय सदस्य निराजन थापाले विदेशीको चलखेलमा देशमा संघीयता र धर्मनिरपेक्षता लादिएको टिप्पणी गरे । जनमतविना षड्यन्त्रपूर्वक राजा हटाइएकाले राजसंस्था पुनःस्थापना गरेर देश बचाउनुपर्नेमा जोड दिँदै उनले हिन्दूराष्ट्र र राजसंस्था चाहनेहरूका लागि असोज ३ कालो दिन भएको बताए ।

साक्षात्कारमा जेनजीका घाइते सुरेन्द्रजंग थापाले २०७२ को संविधान विदेशीले बनाइदिएको आरोप लगाए । भ्रष्टाचार अन्त्य र सुशासनका लागि जेनजी सडकमा आए पनि यही संविधानको संरचनागत त्रुटिका कारण मुलुकमा बेतिथि र भ्रष्टाचार अन्त्य हुन नसकेको उनको जिकिर थियो ।