बाँके । नेपालगन्जमा परम्परागत रूपमा सञ्चालन हुँदै आएको ऐतिहासिक रामलीला महोत्सव यहाँको सांस्कृतिक पहिचान बन्दै गएको छ ।करिब डेढ शताब्दी भन्दा लामो इतिहास बोकेको यो रामलीला नेपालकै सबैभन्दा पुरानो र निरन्तर सञ्चालन हुँदै आएको सांस्कृतिक उत्सव भएको रामलीला सञ्चालक समितिका अध्यक्ष सन्तोषकुमार कनोडियाले जानकारी दिए ।
“हरेक वर्ष विजयादशमी (दशैं)को अवसरमा आयोजना हुने यो महोत्सवले नेपालगन्जलाई नेपाल र भारत दुवै क्षेत्रमा एक विशिष्ट सांस्कृतिक पहिचान र गौरवमय परिचय दिएको छ”, अध्यक्ष कनोडियाले भने, “रामलीला महोत्सवमा हिन्दु, मुस्लिम, सिख लगायत सबै समुदायका मानिसहरू एकजुट भएर सहभागी हुन्छन्, जसले सहरको आपसी सद्भावलाई बलियो बनाएको छ ।”
अध्यक्ष कनोडियाका अनुसार,सत्यमाथि विजयको प्रतीकका रूपमा मनाइने दसैँको पहिलो दिन घटस्थापनादेखि विजयादशमीको दिनसम्म राति ८ बजे देखि १२ बजेसम्म रामलीला मञ्चन गरिन्छ । यो वर्ष एक सय ५९औँ संस्करण असोज २५ गते घटस्थापनाका दिनदेखि सुरु हुनेछ । यस महोत्सवमा भगवान श्रीरामको जन्मदेखि राज्यरोहणसम्मको जीवनीलाई नाटकका रूपमा मञ्चन गरिन्छ ।
“विगतका वर्षहरूमा जस्तै यो वर्ष पनि रामीलला महोत्सव सञ्चालन गर्ने तयारी गरेका छौँ”,अध्यक्ष कनोडियाले भने, “यस वर्ष भारतको वृन्दावनबाट राधा रमणको नेतृत्वमा कलाकार टोली ल्याएर रामलीला मञ्चन गरिनेछ ।”
रामलीला मञ्चनका लागि बर्सेनि लाखौँ खर्च गरेर भारतबाट कलाकार ल्याइन्छ । नेपालमै कलाकार उत्पादन गर्ने प्रयास गरिए पनि सफल हुन नसकेको रामलीला सञ्चालक समितिका अध्यक्ष कनोडियाले बताए ।
नेपालमै कलाकार उत्पादन गर्न तालिम सञ्चालन गर्ने सोंच बनाएको उहाँले उल्लेख गरे । एउटा आयोजनामा कम्तीमा रु। १५ लाख खर्च हुने गर्दछ । अध्यक्ष कनोडियाले समुदायस्तरबाट डेढसय वर्षदेखिको यो अद्भूत कलालाई निरन्तरता दिन भइरहेको प्रयास चुनौतीपूर्ण रहेको बताए ।
“शतप्रतिशत समुदायको सहयोगबाट चलेको छ । नितान्त समुदायको अग्रसरतामा यहाँसम्म आइपुगेको यो ऐतिहासिक विरासतलाई निरन्तरता दिन र जीवन्त राख्न स्थानीय कलाकार उत्पादनलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढ्न स्थानीय सरकारको सहयोग आवश्यक देखिन्छ ।”, कनोडियाले भने ।
डेढ सय वर्षदेखि निरन्तर प्रत्येक वर्ष हुँदै आएको रामलीला महोत्सवको १ सय ५३ र १ सय ५४ औँ वर्ष प्रवेशको कार्यक्रम कोरोना महामारीका कारण स्थगित गरिएको थियो भने १ सय ५८ औँ वर्ष प्रवेशको कार्यक्रम गतवर्ष जेनजी आन्दोलनाका कारण नियमित रूपमा मञ्चन हुन नसके पनि रावण दहन कार्यक्रम भने गरिएको थियो ।
नेपालगन्जवासी चासो र उत्साहका साथ रामलीला महोत्सवमा सयौँको सङ्ख्यामा मध्य रातसम्म सहभागी हुने गर्दछन् । धनुष यज्ञ, रावणवध, भरतमिलाप र रामको शुभ राज्याभिषेक भएर रामलीला महोत्सव समापन हुने गर्दछ ।
सञ्चालक समितिका अध्यक्ष कनोडियाका अनुसार, बिश्वनाथ टण्डन, बद्रिनाथ टण्डन, पाटनदिन गुप्ता, जगदिशप्रसाद वैश्य, पन्नालाल गुप्ता, जयेन्द टण्डन,भाइलाल हल्वाईलगायतले नेपालगन्जमा रामलीला महोत्सवको सुरुवात गरेका थिए ।
नेपालगन्जको परम्परालाई जोगाई राख्नका लागि सहयोग सङ्कलन गरेर रामलीला महोत्सव गर्दै आएको स्थानीय अगुवा द्वारिकाप्रसाद वैश्यले बताए । सन् १९२५ देखि नेपालगन्जको रामलीला मैदान र टण्डन राइस मिलमा मञ्चन हुँदै आएको यो कला नेपालगन्जवासी सँगै सीमावर्ती भारतीयहरूबिच लोकप्रिय छ । भारतको उत्तर प्रदेशबाट समेत हजारौँ श्रद्धालु रामलीला दर्शनका लागि आउने गरेको वैश्यको भनाइ छ ।




प्रतिक्रिया