साझा यातायातको रात्रिकालीन सेवा विस्तार,६ वटा रुटमा २८ विद्युतीय बस सञ्चालनमा


काठमाडौँ । काठमाडौं उपत्यकामा अब रात्रिकालीन सार्वजनिक यातायात सेवा थप भएको छ। साझा यातायातले रातिको बस सेवा विस्तार गर्दै शनिबारदेखि ६ वटा रुटमा २८ वटा विद्युतीय बस सञ्चालनमा ल्याएको छ।

संविधान दिवसको अवसर पारेर साझा यातायातले हाल सञ्चालनमा रहेको रात्रिकालीन सेवालाई विस्तार गरेको हो। कम्पनीका अनुसार यसअघि दुईवटा रुटमा सीमित रहेको सेवा अब उपत्यकाका थप क्षेत्रमा पुग्ने गरी सञ्चालन गरिनेछ।

साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालका अनुसार गत वैशाख १ गतेदेखि काठमाडौं उपत्यकामा रात्रिकालीन बस सेवा सुरु गरिएको थियो। सुरुवाती चरणमा दुईवटा रुटमा सञ्चालन हुँदै आएको सेवामा अब थप चार रुट जोडिन लागेका हुन्।

यस्ता छन् नयाँ र विस्तारित रुटहरू :

शनिबारदेखि नयाँ व्यवस्थाअनुसार निम्न रुटहरूमा विद्युतीय बसहरू सञ्चालन हुनेछन् 

बुढानीलकण्ठ–गोदावरी : ६ वटा बस
जगाती–रत्नपार्क–ठमेल : ६ वटा बस
चक्रपथ परिक्रमा (दुवैतर्फ) : ८ वटा बस
विमानस्थल–नागढुंगा : ४ वटा बस
कीर्तिपुर–जमल : ४ वटा बस

साथै यसअघि नै सञ्चालनमा रहेका नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा र लगनखेल–बुढानीलकण्ठ रुटमा ३ वटा बसहरूलाई निरन्तरता दिइने कम्पनीले जनाएको छ । 

साझा यातायातका अनुसार यी रात्रिकालीन बसहरू सम्बन्धित प्रस्थानबिन्दुबाट बेलुका ८ बजेदेखि राति ११ बजेसम्म छुट्नेछन् । यात्रुको चाप र आवश्यकताका आधारमा समय र बसको संख्यामा थप समायोजन गर्न सकिने कम्पनीले जनाएको छ ।