जनकपुरमा घरमा आगलागी हुँदा पूर्व शिक्षकको मृत्यु


काठमाडौं । जनकपुरधाममा गएराति एक घरमा आगलागी हुँदा ७० वर्षीय पूर्व शिक्षक किशोरी सहनीको जलेर मृत्यु भएको छ।

जनकपुरधाम उपमहानगरपालिका–८, रामानन्दचोकस्थित घरमा अचानक आगलागी हुँदा सहनी घरबाट बाहिर निस्कन नसकेपछि आगोमा परेका थिए। स्थानीयका अनुसार आगलागीका कारण उनको घटनास्थलमै मृत्यु भएको हो।

महोत्तरीको लोहारपट्टी नगरपालिका–२ निवासी सहनी अवकाशप्राप्त शिक्षक हुन्। आगलागीका क्रममा उनकी नातिनी भने घरबाट भागेर सुरक्षित हुन सफल भएकी छन्।

प्रहरीले प्रारम्भिक रूपमा विद्युत् सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरेको छ। घटनाबारे थप अनुसन्धानका लागि प्रहरी टोलीले घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।