काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का नेता वर्षमान पुनले वर्तमान सरकारविरुद्ध दशैं, तिहार र छठपछि जनविद्रोह हुनसक्ने दाबी गरेका छन्।
शनिबार नेकपा गण्डकी प्रदेश सम्पर्क समितिले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै पुनले सरकार स्वेच्छाचारी, निरंकुश र गैरजिम्मेवार ढंगले अघि बढिरहेको आरोप लगाए।
उनले सरकार जनताका आधारभूत समस्या समाधान गर्न असफल भएको दाबी गर्दै प्राकृतिक विपत्तिपछिको उद्धार तथा राहत, किसानलाई मल, सर्वसाधारणलाई ग्यास र बढ्दो महँगी नियन्त्रणमा सरकारको प्रभावकारी भूमिका नदेखिएको बताए।
पुनले सरकारविरुद्ध जनतामा आक्रोश र निराशा बढिरहेको दाबी गर्दै सम्भावित आन्दोलनको नेतृत्व र व्यवस्थापनका लागि पार्टी पंक्तिलाई अहिलेदेखि नै तयारी अवस्थामा रहन आग्रह गरे।
सरकारको कार्यशैलीका कारण राष्ट्रियता र राष्ट्रिय स्वाधीनता कमजोर बन्दै गएको आरोप लगाउँदै उनले स्वाधीनताको रक्षाका लागि समेत जनता सडकमा उत्रिनुपर्ने अवस्था आएको बताए।




प्रतिक्रिया