काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। बाढीका कारण हालसम्म १ हजार ४ सय ३६ जनाको शव फेला परेको छ।
बाढीको प्रभाव रसुवादेखि तल्लो तटीय क्षेत्रका विभिन्न जिल्लाहरूमा व्यापक देखिएको छ। फेला परेका कुल शवमध्ये सबैभन्दा बढी चितवनमा ३ सय ६५ जनाको शव भेटिएको छ। यस्तै, रसुवामा २ सय २३, नवलपरासी पूर्वमा २ सय ३२, नवलपरासी पश्चिममा २ सय २२, नुवाकोटमा २ सय ३, गोरखामा ७९, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। यसरी विभिन्न जिल्लाहरूमा १ हजार ४ सय ३४ जनाको शव भेटिएको छ भने २ जनाको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ।
भेटिएका शवहरूको पहिचानका लागि सुरक्षा निकाय र प्राविधिक टोलीले डिएनए नमुना सङ्कलन लगायतका आवश्यक प्रक्रिया अघि बढाएका छन्। हालसम्म १ हजार २ सय ९२ वटा शवको कानुनी तथा प्राविधिक प्रक्रिया पूरा गरी माटोमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिएको छ।
मृतकहरूको पहिचान सहज बनाउन हालसम्म कुल ३ हजार २ सय ८३ वटा डिएनए नमुना सङ्कलन गरिएको छ। जसमध्ये मृतकका १ हजार २ सय ८६ र आफन्तका १ हजार ९ सय ९७ वटा डिएनए नमुना रहेका छन्। पहिचान हुन नसकेका १ हजार ३ सय ६२ वटा शवहरूको विवरण सर्वसाधारण तथा आफन्तको जानकारीका लागि नेपाल प्रहरीको आधिकारिक वेबसाइटमा समेत अपलोड गरिएको छ।
बाढी प्रभावित क्षेत्रमा खोजी, उद्धार, राहत वितरण तथा शव व्यवस्थापन कार्यलाई तीव्रता दिन ७ हजार ९ सय ७५ जना प्रहरी कर्मचारीहरू परिचालन गरिएका छन्। बाढीका कारण अझै ४ हजार ६ सय ५५ जना नागरिक बेपत्ता रहेकाले उनीहरूको खोजी कार्य निरन्तर जारी छ।
यसैगरी बाढीबाट प्रभावित बनेका १ हजार ४ सय ८६ जना व्यक्तिहरूलाई विभिन्न जिल्लाहरूमा रहेका होल्डिङ सेन्टरहरूमा सुरक्षित राखिएको छ।




प्रतिक्रिया