काठमाडौँ। बंगालको खाडीमा विकसित हुँदै गरेको न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म देशभर वर्षाको गतिविधि तीव्र हुने प्रक्षेपण गरिएको छ। मौसमविद्हरूका अनुसार केही स्थानमा अत्यधिक वर्षा हुनसक्ने सम्भावना रहेकाले विपद् व्यवस्थापनका लागि पूर्वतयारी र उच्च सतर्कता अपनाउन जरुरी देखिएको छ।
त्रिभुवन विश्वविद्यालयका जल तथा मौसमविद् डा. विनोद पोखरेलका अनुसार विभिन्न अन्तर्राष्ट्रिय मौसम पूर्वानुमान मोडेलहरूको अध्ययन गर्दा असोज ८ देखि १२ सम्म नेपालमा मनसुनी सक्रियता ह्वात्तै बढ्ने सम्भावना देखिएको छ। उनका अनुसार केही मोडेलहरूले उक्त अवधिमा ४०० मिलिमिटरदेखि ७४१ मिलिमिटरसम्म भारी वर्षा हुनसक्ने संकेत गरेका छन्।
“यो वर्षा देशभर एकैनासको नभई निश्चित क्षेत्रहरूमा बढी केन्द्रित हुनेछ,” डा. पोखरेलले सामाजिक सञ्जालमार्फत स्पष्ट पार्दै भनेका छन्, “धेरै वटा पूर्वानुमान मोडेलको अध्ययनपछि सम्भावित जोखिमबारे पूर्वजानकारी गराइएको हो। यसको उद्देश्य त्रास फैलाउनु नभई पूर्वतयारी र बचावटका लागि समय दिनु हो।”
विभिन्न मौसम मोडेलहरूले असोज ८ देखि ११ गतेसम्मको मौसमी अवस्थालाई गम्भीर देखाएका छन्। विशेष गरी असोज १० गते वर्षाको जोखिम तुलनात्मक रूपमा अत्यधिक रहनसक्ने अनुमान छ।
सम्भावित जोखिमलाई ध्यानमा राख्दै मौसमविद्हरूले असोज ८, ९ र १० गते सुदूरपश्चिम बाहेकका क्षेत्रमा लामो दूरीको यात्रा नगर्न र सम्भव भए स्थगित गर्न सुझाव दिएका छन्। यद्यपि, विगतमा शक्तिशाली देखिएका मौसमी प्रणाली नेपाल आइपुग्दा कमजोर भएका उदाहरण पनि रहेकाले पूर्वानुमानलाई नै अन्तिम निष्कर्ष नमान्न र नआत्तिन आग्रह गरिएको छ।
जल तथा मौसम विज्ञान विभागले बंगालको खाडीको मौसमी प्रणालीलाई सुक्ष्म रूपमा निगरानी गरिरहेको जनाएको छ। विभागका वरिष्ठ मौसमविद् वरुण पौडेलका अनुसार यस्ता प्रणाली कहिलेकाहीँ डिप्रेसनकै अवस्थामा कमजोर हुने वा दिशा परिवर्तन गर्ने गर्छन्।
“अहिले नै नेपालमा पर्ने वर्षाको निश्चित मात्रा र प्रभावबारे अन्तिम निष्कर्ष निकाल्न सकिँदैन,” पौडेलले भने, “प्रणालीको विकास, गति र दिशामा हुने परिवर्तन अनुसार नेपालमा पर्ने असरबारे विभागले समयमै आधिकारिक जानकारी सार्वजनिक गर्नेछ।”
भारतीय मौसम विभागका अनुसार उत्तर थाइल्यान्ड र म्यानमार क्षेत्रमा बनेको प्रणालीको प्रभावले आगामी ४८ घण्टाभित्र उत्तर अण्डमान सागरमा न्यूनचापीय क्षेत्र बन्दैछ। यो प्रणाली मध्य बंगालको खाडीतर्फ अघि बढ्दै सेप्टेम्बर २२ सम्म डिप्रेसन वा गहिरो डिप्रेसनमा परिणत हुने अनुमान छ।
यदि यो प्रणाली चक्रवातमा परिणत भएमा उत्तर हिन्द महासागर क्षेत्रमा सन् २०२६ को पहिलो उष्णकटिबन्धीय चक्रवात बन्नेछ। विश्व मौसम संगठनको नामकरण सूचीअनुसार यस चक्रवातको नाम बंगलादेशले प्रस्ताव गरेको ‘अर्नब’ राखिनेछ।
मौसमविद्हरूले सम्भावित विपद्को जोखिमबाट बच्न पूर्वतयारीका साथै आधिकारिक मौसम बुलेटिनहरू नियमित रूपमा पछ्याउन सर्वसाधारणलाई अपिल गरेका छन्।




प्रतिक्रिया