काठमाडौँ । समसामयिक राजनीति र राष्ट्रिय एजेन्डामा सदैव अग्रणी भूमिका खेल्दै आएका स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले प्रधानमन्त्री बालेन शाहको आसन्न संयुक्त राष्ट्रसंघ महासभा भ्रमणका सन्दर्भमा एक अत्यन्तै दूरदर्शी र रणनीतिक विश्लेषण प्रस्तुत गरेका छन्।
रिपोर्टर्स क्लब नेपालद्वारा आयोजित विशेष साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले मुलुकले अहिले भोगिरहेको जलवायु संकटदेखि बहुपक्षीय कूटनीतिका सूक्ष्म विषयसम्म गहन मन्थन गर्दै सरकारलाई स्पष्ट दिशानिर्देश गरेका हुन्। सदैव खरो उत्रने पहिचान बनाएका धमलाले बालेन शाह नेतृत्वको सरकारका लागि अन्तर्राष्ट्रिय मञ्चमा नेपालको साख उच्च बनाउने ‘मास्टरप्लान’ अघि सारेका छन्।
विश्वव्यापी जलवायु परिवर्तनको प्रत्यक्ष मारमा नेपाल परेको गम्भीर तथ्यलाई औंल्याउँदै धमलाले राष्ट्रसंघको मञ्चबाटै नेपालले ठूलो क्षतिपूर्ति माग्नुपर्ने स्पष्ट अडान राखे। ‘नेपाल अहिले ठूलो जलवायु संकटको भुमरीमा छ, हामीले विश्व समुदायसमक्ष हाम्रा अधिकार र क्षतिपूर्तिको कुरा निर्धक्क रूपमा राख्नैपर्छ,’ धमलाको जोडदार भनाइ थियो।
प्रधानमन्त्री बालेन शाह पहिलोपटक संयुक्त राष्ट्रसंघको महासभामा कसरी प्रस्तुत होलान् भन्ने विषयमा यतिबेला आम नागरिक र वैश्विक समुदायमा निकै चासो र कौतुहल छाएको छ। यही चासोलाई सम्बोधन गर्दै अध्यक्ष धमलाले कूटनीतिक सफलताका लागि पूर्वप्रधानमन्त्रीहरू, पूर्व परराष्ट्रमन्त्रीहरू, पूर्वराजदूतहरू र विषयविज्ञहरूसँग गहन परामर्श गर्न प्रम बालेनलाई सुझाव दिएका छन्।
‘राष्ट्रसंघ जस्तो गरिमामय मञ्चमा नेपालको एजेन्डा मजबुत बनाउन सबै तह र तप्काको सुझाव लिएर जानु अनिवार्य छ,’ धमलाले भने, ‘पूर्वप्रधानमन्त्री र अनुभवी कूटनीतिज्ञहरूसँग संवाद गरेर तय गरिने साझा राष्ट्रिय धारणाले नै नेपाललाई अधिकतम लाभ दिलाउन सक्छ।’
अध्यक्ष धमलाले प्रधानमन्त्री बालेन शाहको साखलाई अझ उँचो बनाउन यो भ्रमण कोसेढुङ्गा साबित हुनुपर्नेमा जोड दिए। विगतका सरकार प्रमुखहरूले गरेका सम्बोधनभन्दा बालेनको प्रस्तुति अझ उत्कृष्ट, ओजनदार र परिणाममुखी होस् भन्ने शुभकामना प्रकट गर्दै धमलाले प्रधानमन्त्रीलाई राष्ट्रिय एकता र सर्वपक्षीय सहमति बोकेर न्यूयोर्क उडान भर्न आग्रह गरे।
नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री शाह सेप्टेम्बर २२ मा अमेरिका प्रस्थान गर्ने कार्यक्रम छ। उनले सेप्टेम्बर २४ मा संयुक्त राष्ट्रसंघीय महासभाको उच्चस्तरीय सत्रलाई सम्बोधन गर्नेछन्।
न्युयोर्क बसाइका क्रममा प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रमसमेत रहेको छ।





प्रतिक्रिया