‘युएन महासभामा प्रधानमन्त्रीले तयारीविना प्रस्तुत भए नेपालको बदनाम हुन्छ’: प्रा. डा. न्यौपाने


काठमाडौं । अर्थविद् तथा विश्लेषक प्रा. डा. गोपीलाल न्यौपानेले प्रधानमन्त्री बालेन शाहले संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुँदा पूर्ण तयारीका साथ प्रस्तुत हुनुपर्ने बताएका छन्।


रिपोर्टर्स क्लब नेपालद्वारा आइतबार आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै न्यौपानेले संविधान दिवसका दिन प्रधानमन्त्री शाहले लिखित भाषण प्रस्तुत गर्दा समेत पर्याप्त तयारी नगरेको देखिएको भन्दै संयुक्त राष्ट्रसंघको महासभामा त्यस्तो कमजोरी दोहोरिन नहुने बताए।


‘मलाई एउटा डर लाग्या छ । प्रधानमन्त्रीले अस्ति संविधान दिवसको दिन एउटा पेपर निकाल्नुभयो । पढ्न थालेपछि अनि एउटा सैनिक अधिकारीसँग कन्सल्टेसन गर्नुभयो,’ उनले भने, ‘नेपालभित्र त उहाँ तयारीविना आउनुहुन्छ भन्ने हामीलाई थाहा छ, इट्स ओके । तर प्रधानमन्त्रीको त्यही बानी लिखित भाषण पनि तयारी नगरी जानुभयो भने त्यसले बालेन शाहलाई चिन्दैन, जनरल असम्बलीले नेपाललाई चिन्ने हो । नेपालको बदनाम हुन्छ, नेपाली जनताको बदनाम हुन्छ।’


महासभामा प्रधानमन्त्रीले आफ्नो प्रस्तुति र भाषणमार्फत अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षित गर्न सक्नुपर्ने उनको भनाइ थियो। उनले प्रधानमन्त्री शाहलाई महासभामा जाने विषयलाई सामान्य भ्रमणका रूपमा नलिई गम्भीर तयारी गर्न सुझाव दिए।
‘उहाँ पूर्ण तयारीका साथ जनरल असम्बलीमा प्रस्तुत हुनुपर्छ । अडियन्सहरू कम्तीमा उहाँको भाषणले आकर्षित हुनुपर्छ,’ न्यौपानेले भने।
महासभामा गरिने भाषण नै भ्रमणको अन्तिम उपलब्धि नभएको उल्लेख गर्दै उनले प्रभावकारी प्रस्तुति भए त्यसपछि विभिन्न देशका सरकार तथा राष्ट्र प्रमुख र संयुक्त राष्ट्रसंघका महासचिवले समेत प्रधानमन्त्रीसँग छलफल गर्न चाहने वातावरण बन्न सक्ने बताए।


‘त्यो भाषण नै अन्तिम हुँदैन । त्यो भाषण पछाडि यदि उहाँको भाषण प्रभावकारी देखिएमा विभिन्न देशका सरकार प्रमुख र राज्य प्रमुखहरूले उहाँसँग छलफल गर्न चाहन्छन् । महासचिवले छलफल गर्न चाहन्छन् । हो, त्यो चाहिँ उपलब्धि हुन्छ,’ उनले भने।


प्रधानमन्त्रीको अन्तर्राष्ट्रिय भ्रमणलाई प्रभावकारी बनाउन परराष्ट्र मन्त्रालय र परराष्ट्रमन्त्रीको भूमिका महत्वपूर्ण हुने न्यौपानेको भनाइ थियो। उनले परराष्ट्रमन्त्रीले अहिलेसम्म प्रधानमन्त्रीलाई प्रभावकारी रूपमा कूटनीतिक भ्रमण गराउन नसकेको आरोपसमेत लगाए।


प्रधानमन्त्री शाहलाई भारत र चीनका प्रतिनिधिसँग ‘साइडलाइन टक’ गर्न सुझाव दिए। ‘तपाईं भारत र चीनका प्रतिनिधिसँग साइडलाइन टक गर्नुहोस्,’ उनले प्रधानमन्त्री शाहलाई आग्रह गर्दै भने, ‘यदि भारत र चीनका सरकार प्रमुखहरूसँग सम्बन्ध अघि बढाउन सक्नुभएन र केवल डिनर मात्रै गरेर आउनुभयो भने यो सरकार वैदेशिक कूटनीतिमा फेल हुन्छ । तपाईंको सरकार कम्प्लिट असफल हुन्छ र डिप्लोमेटिक्ली नेपाल आइसोलेटेड कन्ट्रीको रूपमा हुन्छ।’