काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)का कोषाध्यक्ष रविन्द्र जोशी र लेखा अधिकृत सञ्जीव पाण्डेलाई प्रहरीले पक्राउ गरेको छ ।
केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले खेलमा मिलेमतो, अनियमितता तथा ठगीसम्बन्धी आरोपमा उनीहरूलाई नियन्त्रणमा लिएको जनाएको छ । सीआईबीका एसएसपी अनुपमशमशेर जबराका अनुसार उनीहरूमाथि अनुसन्धानका लागि ललितपुर जिल्ला अदालतबाट चार दिनको म्याद लिइएको छ ।
खेलमा मिलेमतो भएको विषयमा अनुसन्धान गर्न राष्ट्रिय खेलकुद परिषद्ले सीआईबीलाई पत्राचार गरेको थियो । सोही आधारमा अनुसन्धान अघि बढाएको ब्यूरोले शुक्रबार सातदोबाटोस्थित एन्फाको केन्द्रीय कार्यालयबाट आवश्यक कागजातसमेत नियन्त्रणमा लिएको थियो ।
पक्राउ परेका जोशी पुल्चोक निवासी ६० वर्षीय हुन् भने पाण्डे लगनखेल निवासी ५५ वर्षीय हुन् । जोशी एन्फाको कोषाध्यक्ष र पाण्डे लेखा अधिकृतका रूपमा कार्यरत छन् ।
सीआईबीले उनीहरूमाथि खेलमा मिलेमतो तथा ठगीसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको जनाएको छ ।




प्रतिक्रिया