टेक्सास । अमेरिकाको टेक्सास राज्यको राजधानी अस्टिनमा ट्राफिक जाँचका क्रममा सङ्घीय आप्रवासन तथा भन्सार प्रवर्तन (आईसीई) का अधिकारीले गोली चलाउँदा एक व्यक्ति गम्भीर घाइते भएका छन्।
घटनालगत्तै आक्रोशित बनेका करिब १०० जना प्रदर्शनकारी सडकमा उत्रिएका छन्।
अस्टिन प्रहरी प्रमुख लिसा डेविसका अनुसार आइतबार दिउँसो भएको उक्त घटनामा गोली ती व्यक्तिको ढाडमा लागेको थियो। घाइतेलाई उपचारका लागि तत्काल अस्पताल लगिएको र उनको अवस्था गम्भीर रहे पनि स्थिर छ।
यो घटना ट्राफिक जाँचका क्रममा भएको हो। यसमा अस्टिन प्रहरी विभागका कुनै पनि अधिकारीको संलग्नता नरहेको प्रहरीले स्पष्ट पारेको छ।
गोली चलेको खबर सार्वजनिक हुनेबित्तिकै घटनास्थलमा ठुलो सङ्ख्यामा कानुन कार्यान्वयन अधिकारीहरू परिचालन गरिएका थिए। त्यहाँ भेला भएका प्रदर्शनकारीमध्ये केहीले प्रहरीप्रति तीव्र असन्तुष्टि जनाउँदै सडकमा गुडिरहेका सवारीसाधनतर्फ नाराबाजी गरेका थिए।
केही सवारीचालकले हर्न बजाएर प्रदर्शनप्रति ऐक्यबद्धता जनाएका थिए। प्रदर्शनका क्रममा सहभागीहरूले ‘कोही सुरक्षित छैन’ र ‘आईसीई नाजी’ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
यसैबीच अस्टिनका मेयर किर्क वाट्सनले घटनाको अनुसन्धानमा स्थानीय प्रहरीलाई अनिवार्य रूपमा सहभागी गराउन माग गरेका छन्। अनुसन्धान सङ्घीय आप्रवासन निकायको जिम्मामा मात्र छाड्न नहुने उनको तर्क छ। वाट्सनले भने, ‘स्थानीय प्रहरीको सहभागिताले अनुसन्धानमा थप पारदर्शिता र निष्पक्षता कायम गर्न मद्दत गर्नेछ। अस्टिनका नागरिकलाई आफ्नो सहरमा सुरक्षित महसुस गर्ने अधिकार छ।’
प्रहरी प्रमुख डेविसले गोली लागेर घाइते भएका व्यक्तिको राष्ट्रियता वा व्यक्तिगत विवरण तत्काल सार्वजनिक नभएको बताएकी छन्। घटनाबारे प्रारम्भिक चरणमा धेरै तथ्य उपलब्ध नभएको उनको भनाइ छ। प्रहरीको विशेष अनुसन्धान इकाइले घटनास्थल पुगेर अनुसन्धान सुरु गरिसकेको छ। घटनास्थलमा भेटिएको गाढा नीलो रङको टोयोटा कोरोला कारको यात्रु बस्नेपट्टिको ढोकामा क्षति पुगेको छ। त्यहाँ गोली लागेजस्तै चिन्हसमेत देखिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन्।
घटनाबारे प्रतिक्रिया माग्दा गृह सुरक्षा विभागका प्रतिनिधिहरू आयोजित पत्रकार सम्मेलनमा सहभागी भएनन्। विभागले यसबारे तत्काल कुनै जवाफ दिएको छैन। गोली चलाउने सङ्घीय एजेन्ट अहिले कहाँ छन् भन्ने प्रश्नमा मेयर वाट्सनले आफूलाई जानकारी नभएको बताए। उनले भने, ‘घटनामा संलग्न अधिकारीले सहर वा राज्य छाडेर नजाने अपेक्षा गरिएको छ।’
अमेरिकामा आप्रवासन नियन्त्रणसम्बन्धी आईसीईको कारबाही तीव्र भइरहेका बेला यो घटना भएको हो। जुलाई र अगस्ट महिनामा पहिलोपटक आईसीईले एकै महिनामा ५० हजारभन्दा बढी आप्रवासीलाई गिरफ्तार गरेको थियो। यसअघि जुलाईमा ह्युस्टनमा ५२ वर्षीय लोरेन्जो सालगाडो अराउजोको आईसीई अधिकारीको गोलीबाट मृत्यु भएको थियो। सोही महिना मेन राज्यमा २५ वर्षीय कोलम्बियाली नागरिक जोहान सेबास्टियनलाई पनि अधिकारीहरूले गोली हानेका थिए।
अस्टिनबाट निर्वाचित डेमोक्रेट सांसद ग्रेग केसारले अनुसन्धानलाई पारदर्शी बनाउन र अस्टिनमा आईसीईको कारबाही विस्तार रोक्न माग गरेका छन्। पछिल्ला महिनाहरूमा अमेरिकामा आप्रवासन नियन्त्रण अभियानका क्रममा भएका गोलीकाण्ड र मृत्युका घटनाले सङ्घीय अधिकारीहरूको कारबाही, जवाफदेहिता र स्थानीय तहको भूमिकाबारेको बहसलाई थप पेचिलो बनाएको छ। एजेन्सी




प्रतिक्रिया