असोज महिनाभित्रै ई–बिडिङ सुचारु हुन्छ : मन्त्री लम्साल


काठमाडौँ । पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले विद्युतीय खरिद प्रणाली (ई–बिडिङ) आगामी असोजभित्र पुनः सञ्चालनमा आउने बताएका छन्। पुरानो प्रणालीमा सुरक्षा जोखिम देखिनुका साथै प्रमुख दातृ निकायले समेत त्यसप्रति विश्वास नगरेपछि प्रणालीलाई थप सुरक्षित र आधुनिक बनाउने काम भइरहेको उनले बताए ।

संसदीय समितिको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री लम्सालले विगतमा विद्युतीय प्रणालीमार्फत गरिएका ठेक्कासम्बन्धी गतिविधिमा ह्याकिङका घटना देखिएपछि ई–बिडिङलाई निरन्तरता दिन समस्या भएको जानकारी दिए।

उनका अनुसार वैशाखदेखि नै पुरानो प्रणालीसँगै वैकल्पिक प्रणाली विकास गर्ने काम भइरहेको थियो। तर, प्राविधिक अध्ययन तथा प्रतिवेदनपछि तत्काल त्यसलाई पूर्ण रूपमा सञ्चालनमा ल्याउन नसकिएको उनले बताए।

नयाँ प्रणाली तयार भएर सुरक्षित रूपमा सञ्चालनमा नआएसम्म करिब एक महिनासम्म ठेक्कापट्टासम्बन्धी प्रक्रिया कागजी अर्थात् हार्डकपी माध्यमबाटै अघि बढाउनुपर्ने अवस्था रहेको मन्त्री लम्सालले समितिलाई जानकारी गराए।

नेपालमा प्रयोग भइरहेको विद्युतीय खरिद प्रणालीप्रति अन्तर्राष्ट्रिय दातृ निकायको विश्वाससमेत कमजोर बनेको उनले बताए। विशेषगरी एसियाली विकास बैंक (एडीबी) र विश्व बैंकले विद्युतीय प्रणालीमा विश्वास नगरेका कारण कतिपय खरिद प्रक्रिया अहिले पनि कागजी माध्यमबाट सञ्चालन भइरहेको उनको भनाइ थियो।