पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रमलाई चिर्दै अघि बढ्न ओलीकाे निर्देशन


काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टी र नेतृत्वविरुद्ध फैलाइएका भ्रम तथा कुप्रचारको प्रभावमा नपरी त्यसलाई चिर्दै अघि बढ्न पार्टी पंक्तिलाई निर्देशन दिएका छन्।

सोमबारदेखि सुरु भएको एमाले केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले पछिल्लो समय जनतामा पार्टीबारे केही भ्रम र अन्योल सिर्जना भएको बताए। उनले त्यस्ता भ्रमको पछि लाग्नुको सट्टा वास्तविकता जनतामाझ स्पष्ट पार्नुपर्नेमा जोड दिए।

ओलीले विरोधी पक्षबाट हुने आलोचना वा प्रचारलाई आधार बनाएर पार्टीका नेता–कार्यकर्ता प्रभावित हुन नहुने बताए। विरोधीहरूले प्रशंसा गरे भन्दैमा पनि बहकिन नहुने उल्लेख गर्दै उनले पार्टी पंक्तिलाई संयमित र स्पष्ट भएर अघि बढ्न आग्रह गरे।

उनले भने, ‘जनता हामीबाट अलिकति भ्रममा परेका छन्, अलमलिएका छन्। यी भ्रमहरूलाई हामीले चिरेर जानुपर्छ। जे भ्रम छरिन्छन्, त्यसकै पछि कुद्ने र कुप्रचारलाई मलजल गर्ने काम हाम्रो पंक्तिले गर्नु हुँदैन।’

पार्टीभित्र पछिल्लो समय देखिएको अनुशासनहीनताप्रति कडा असन्तुष्टि जनाउँदै ओलीले आफ्ना असन्तुष्टि सामाजिक सञ्जाल र मिडियामा नपोख्न चेतावनी दिए। ‘पार्टीभित्रका बहस कमिटीभित्रै हुनुपर्छ। मिडियामा गएर खुलेआम अध्यक्ष हटाउनुपर्छ, असान्दर्भिक भयो भन्दै हिँड्ने को न्यायाधीश हो ?’ भन्दै उनले प्रश्न गरे।