निर्वाचनमा भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी लिन्छु :  ओली(प्रतिवेदनसहित)


काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत फागुनमा सम्पन्न निर्वाचनमा पार्टीले भोगेको अप्रत्याशित पराजयको नैतिक जिम्मेवारी आफूले लिने बताएका छन्।

सोमबारदेखि ललितपुरमा सुरु भएको पार्टीको केन्द्रीय कमिटी बैठकमा ‘पार्टीको पुनर्निर्माण, लोकतन्त्रको रक्षा र राष्ट्रिय स्वाधीनताको नयाँ सङ्कल्प’ शीर्षकको राजनीतिक प्रतिवेदन पेस गर्दै उनले चुनावी पराजयको जिम्मेवारी आफूले लिने बताएका हुन् । यद्यपी उनले चुनावी पराजयको जिम्मेवारी लिए पनि मैदान छाडेर नभाग्ने प्रस्ट पारे ।

निर्वाचन परिणामले पार्टीलाई गम्भीर आघात पुर्‍याएको स्वीकार्दै उनले पराजयलाई बहाना बनाएर एकअर्कामाथि हिलो छ्याप्ने वा निराशामा डुब्ने दुवै बाटो गलत भएको उल्लेख गरे। यस विषम घडीमा कठोर आत्मसमीक्षा, तथ्यगत प्रतिवाद र साङ्गठनिक पुनर्निर्माणको तेस्रो बाटो रोज्नुपर्ने उनको भनाइ छ।

प्रतिवेदनमार्फत अध्यक्ष ओलीले पार्टीभित्र नेतृत्व पुस्तान्तरण र पुनर्गठनका नाममा उठाइएका मागहरूको कडा प्रतिवाद गरेका छन्। पार्टी पुनर्गठन लहड वा रहरको विषय नभई इतिहासमा बाध्यात्मक परिस्थितिमा मात्र गरिने कदम भएको स्मरण गराउँदै उनले अहिले नेतृत्व विस्थापनको मनसायले ‘बेमौसमी बाजा’ बजाइएको दाबी गरे।

वर्तमान परिस्थितिमा एमालेका सामु दुई प्रमुख कार्यभार रहेको उल्लेख गर्दै ओलीले पहिलो कार्यभारका रूपमा संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा तथा दोस्रोमा आगामी स्थानीय तहसहितका निर्वाचनको तयारीलाई अघि सारेका छन्। संसद् विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर मुद्दा विचाराधीन रहेकाले न्यायिक विलम्ब चिन्ताजनक रहेको उनको भनाइ छ।

एमाले हारे पनि नहराएको र कमजोर भए पनि यसको जरा नसुकेको बताउँदै उनले पराजयलाई शिक्षामा, शिक्षालाई रूपान्तरणमा र रूपान्तरणलाई पुनर्जागरणमा बदल्दै पार्टीलाई पुनः राष्ट्रिय विजयको आधार बनाउने उद्घोष गरेका छन्।