काठमाडौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको नेतृत्व परिवर्तनको बहसप्रति असहमति जनाउँदै आफू तत्काल नेतृत्वबाट हट्ने पक्षमा नरहेको संकेत गरेका छन्।
जारी केन्द्रीय कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै ओलीले पार्टी पुनर्गठनलाई नेतृत्व विस्थापनसँग मात्र जोड्न नहुने बताएका हुन्। ओलीले पार्टीभित्र उठिरहेको पुनर्गठनको मागलाई औचित्यहीन भन्दै पुनर्गठन कुन अवस्थामा र किन आवश्यक हुन्छ भन्ने विषयमा गम्भीर रूपमा बुझ्नुपर्ने बताएका छन्।
उनले आफ्नो प्रतिवेदनमा विगतमा एमाले तथा वाम आन्दोलनमा भएका संगठनात्मक पुनर्गठनका घटनालाई समेत उदाहरणका रूपमा प्रस्तुत गरेका छन्। उनले केशरजंग रायमाझीको दरबार प्रवेशदेखि झापा आन्दोलन हुँदै २०७५ सालसम्म भएका पुनर्गठनका घटनालाई सन्दर्भमा ल्याउँदै अहिलेको परिस्थिति त्यस्तो नभएको दाबी गरेका छन्।
ओलीको प्रतिवेदनमा भनिएको छ, ‘के हो पुनर्गठन? कस्तो अवस्थामा हुन्छ? के नेतृत्व विस्थापन गर्ने कुरालाई पुनर्गठन भनिन्छ? हाम्रो धारको आन्दोलनमा कति पल्ट र कहिले कहिले पुनर्गठन भएको छ भन्ने कुरा हामीले राम्ररी बुझ्न जरुरी छ। पार्टी पुनर्गठन कुनै रहर वा लहडको विषय होइन।’
उनले विगतमा बाध्यकारी परिस्थिति र आन्दोलनमा सकारात्मक प्रभाव पार्ने उद्देश्यले चालिएका ठूला संगठनात्मक कदमलाई मात्रै पुनर्गठनका रूपमा बुझ्नुपर्ने बताएका छन्। ‘यति बेला चले, चलाइएको पुनर्गठनको हल्लाले शब्दार्थ वा भावार्थ केही पनि बोक्दैन र औचित्य, आवश्यकता र समय सन्दर्भसँग पनि बिल्कुलै मेल खाँदैन,’ ओलीले प्रतिवेदनमा उल्लेख गरेका छन्।
रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरणमा ओलीको जोड
ओलीले पार्टीभित्र अहिले चर्चामा रहेका रूपान्तरण, हस्तान्तरण र पुस्तान्तरण तीनवटै विषयलाई सही अर्थमा बुझ्नुपर्ने बताएका छन्। उनका अनुसार रूपान्तरण भनेको पार्टीको इतिहास, संघर्ष, विचार र संगठनात्मक परम्परा मेट्नु वा अस्वीकार गर्नु होइन। बरु कार्यशैली, जनतासँग संवाद गर्ने भाषा, निर्णय प्रक्रिया र नेतृत्वको कार्यशैली परिवर्तन गर्नु रूपान्तरण हो।
ओलीले भनेका छन्, ‘रूपान्तरण भनेको इतिहास मेट्नु होइन। पार्टीको सङ्घर्ष, विचार, बलिदान र संगठनात्मक परम्परालाई अस्वीकार र अपमान गर्नु होइन। रूपान्तरण भनेको कार्यशैली बदल्नु हो; जनतासँग बोल्ने भाषा बदल्नु हो; निर्णय प्रक्रिया छरितो बनाउनु हो; कमिटीलाई बैठक गर्ने औपचारिक संरचनाबाट जनताको समस्या समाधान गर्ने केन्द्रमा बदल्नु हो; नेतृत्वलाई आदेश दिने तहबाट सुन्ने, बुझ्ने र परिणाम दिने तहमा बदल्नु हो।’
आफ्नो तर्कलाई स्पष्ट पार्न ओलीले रुखको बिम्ब प्रयोग गरेका छन्। एमालेको इतिहासलाई जरा र नयाँ पुस्तालाई पालुवासँग तुलना गर्दै उनले पुरानो संरचनालाई नष्ट गरेर मात्रै नयाँ पुस्ताको विकास सम्भव नहुने बताएका छन्। ‘पुरानो रूखमा नयाँ पालुवा ल्याउन जरा काटिँदैन। जरालाई पोषण दिएर नयाँ पालुवा हुर्काइन्छ। एमालेको इतिहास जरा हो, नयाँ पुस्ता पालुवा हो,’ ओलीले भनेका छन्।
‘हस्तान्तरण आकस्मिक घटना होइन’
नेतृत्व हस्तान्तरणलाई पद खाली गर्ने आकस्मिक वा मनमौजी घटनाका रूपमा लिन नहुने ओलीको धारणा छ। उनले जिम्मेवारी, ज्ञान, अनुभव, संस्था, राजनीतिक संस्कृति र निर्णय क्षमताको योजनाबद्ध रूपमा हस्तान्तरण हुनुपर्ने उल्लेख गर्दै तयारी बिनाको नेतृत्व हस्तान्तरणले पार्टीमा रिक्तता सिर्जना गर्न सक्ने उनको तर्क छ।
त्यस्तै, पुस्तान्तरणलाई उमेरको अंकगणितमा मात्र सीमित गर्न नहुने उनले बताएका छन्। ‘पुस्तान्तरण उमेरको अंकगणित मात्र होइन। नयाँ पुस्तालाई जिम्मेवारी, प्रशिक्षण, अनुभव, अवसर र निर्णयमा स्थान दिने प्रक्रिया हो। उमेर कम हुनु आफैंमा योग्यता होइन, उमेर बढी हुनु आफैंमा अयोग्यता होइन। ऊर्जा र अनुभवको संयोजन आवश्यक हुन्छ,’ ओलीको प्रतिवेदनमा उल्लेख छ।
ओलीको प्रतिवेदनले एमालेभित्र उठिरहेको नेतृत्व परिवर्तन तथा पुनर्गठनको मागको सन्दर्भमा उनको धारणा स्पष्ट पारेको छ। प्रतिवेदनमार्फत उनले नेतृत्व परिवर्तनभन्दा पार्टीको कार्यशैली, संगठन र पुस्ताबीचको जिम्मेवारी हस्तान्तरणमा जोड दिएका छन्।




प्रतिक्रिया