त्रिपुरेश्वरमा बसमा आगलागी,जेनजी सुनिल सिंह भन्छन्- ‘बालेन सरकारले राजीनामा दिनुपर्छ’


काठमाडौं । ट्राफिक प्रहरीसँगको विवादपछि काठमाडौंको त्रिपुरेश्वरमा रिद्धिसिद्धि यातायातका चालक दावा लामाले आफ्नै गाडीमा आगो लगाएको घटनाप्रति राष्ट्रिय जेनजी नागरिक अभियानले सरकारलाई जिम्मेवार ठहर गर्दै तत्काल जवाफदेही बन्न माग गरेको छ। बा ५ ख ४२७४ नम्बरको रिद्धिसिद्धि यातायातका चालक लामाले सोमबार मध्यान्ह त्रिपुरेश्वरमा आफैंले गाडीमा आगो लगाएको घटनापछि अभियानले रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनकाे आयाेजना गर्दै जेनजी सुनिल सिंहले सरकारप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।


सिंहले दिनप्रतिदिन जनतामा निराशा बढ्दै गएको बताउँदै नेपाली जनताले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) नेतृत्वको सरकारबाट ठूलो अपेक्षा राखे पनि सरकार गठनपछि अपेक्षाअनुसार काम हुन नसकेको टिप्पणी गरे। उनले अहिले युवामा सरकारले दिनप्रतिदिन निराशा बढाएको आरोप लगाए। ‘अहिले जनतालाई बाँच्नभन्दा मर्न मन लाग्ने भएको छ। सरकारले दिनप्रतिदिन युवाहरूलाई मर्न बाध्य बनाइरहेको छ,’ सिंहले भने।


युवाहरू यसैगरी आक्रोशित हुँदै सडकमा उत्रिए सरकारलाई परिस्थिति सम्हाल्न कठिन हुने उनले चेतावनी दिए । ‘युवाहरूले यसैगरी एक–एक लिटर पेट्रोल बोकेर सडकमा उर्लिए सरकारले थेग्छ ?’ उनले प्रश्न गरे।


सिंहका अनुसार जनताले सरकारसँग भ्रष्टाचारीमाथि कारबाही, विकास र सुशासनको अपेक्षा गरेका छन्। तर अपेक्षाअनुसार काम हुन नसक्दा जनतामा निराशा बढ्दै गएको उनले बताए ।


गणेश नेपालीदेखि दावा लामासम्म भएका आत्मदाहका घटनामा सरकार जिम्मेवार हुनुपर्ने उनकाे भनाइ छ । उनले दावा लामाको घटनालाई गम्भीर रूपमा लिएर छानबिन गर्नुपर्ने मागसमेत गरे। ‘यो बालेन सरकारले राजीनामा दिनुपर्छ। ट्राफिक प्रमुखले राजीनामा दिनुपर्छ,’ सिंहले भने। सिंहले सरकारका सकारात्मक कामको समर्थन गर्न र गलत कामप्रति खबरदारी गर्न सबैलाई आग्रहसमेत गरे।