कर्णाली प्रदेशमा १२९ फरार प्रतिवादी पक्राउ


सुर्खेत । कर्णाली प्रदेशमा भदौ महिनामा १२९ फरार प्रतिवादी पक्राउ परेका छन् । 

प्रहरीको मासिक विवरणअनुसार भदौमा  १२९ जना प्रतिवादी पक्राउ परेका छन्। पक्राउ पर्नेमा पाँच महिला र १२४ पुरुष छन्। यस्तै, फैसला कार्यान्वयनतर्फ थप ४३ जना पक्राउ परेका छन्। उनीहरूबाट १२ वर्ष सात महिना कैद तथा सात लाख एक हजार ३१ रुपैयाँ जरिवाना कार्यान्वयन भएको छ ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी वरिष्ठ उपरीक्षक सन्तोष सिंह राठौरले अपराध अनुसन्धानसँगै फरार प्रतिवादी पक्राउ अभियानलाई निरन्तरता दिइएको जानकारी दिए । सूचना अधिकारी राठौरका अनुसार सम्भावित आपराधिक गतिविधि र शान्ति सुरक्षासम्बन्धी घटनालाई मध्यनजर गर्दै सूचना संकलन, विश्लेषण र आवश्यक सुरक्षा योजना बनाउने काम भइरहेको बताए ।

भदौमा कर्णाली प्रदेशमा जघन्य तथा गम्भीर अपराधका ४५ मुद्दा दर्ता भएकामा २६ वटा फर्छ्योट भएका छन् भने १९ वटा अनुसन्धानका क्रममा छन्। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसम्बन्धी १२ मुद्दा दर्ता भएकामा ६ वटा फर्छ्योट र ६ वटा अनुसन्धानमा छन्।

आर्थिक अपराधका २८ मुद्दा दर्ता भएकामा तीनवटा फर्छ्योट भएका छन् भने २५ वटा अनुसन्धानकै क्रममा छन्। यस्तै लागुऔषधका  १५ मुद्दा दर्ता भएका छन्।