त्रिपुरेश्वरमा बस आगलागी : दावा लामालाई प्रहरीले बोलायो


काठमाडौं । त्रिपुरेश्वरमा सोमबार रिद्धिसिद्धि यातायातको बसमा भएको आगलागीमा ज्यान गुमाएका व्यक्तिको पहिचान यकिन गर्न प्रहरीले अनुसन्धान अघि बढाएको छ।

आगलागीमा मृत्यु भएका व्यक्तिको साथबाट भेटिएको लाइसेन्सका आधारमा प्रहरीले उनी काभ्रेका २५ वर्षीय दावा लामा भएको प्रारम्भिक जानकारी सार्वजनिक गरेको थियो। तर, दावा लामा नामका एक व्यक्ति आफू सकुशल रहेको बताएपछि मृतकको पहिचान हुन सकेकाे छैन ।

यससँगै प्रहरीले प्रयोग भएको लाइसेन्सको विवरण तथा सम्भावित दुरुपयोगबारे समेत अनुसन्धान थालेको छ। आफूलाई दावा लामा बताउने व्यक्तिलाई प्रहरीले उपत्यका ट्राफिक प्रहरी कार्यालय, रामशाहपथमा बोलाएर सोधपुछ गरिरहेको एक प्रहरी अधिकृतले जानकारी दिए।

सोमबार दिउँसो त्रिपुरेश्वर बस स्टप नजिक रिद्धिसिद्धि यातायातको बा ५ ख ४२७४ नम्बरको बसमा आगलागी भएको थियो। आगलागी हुनुअघि बसका चालक र ट्राफिक प्रहरीबीच विवाद भएको बताइएको छ।

विवाद भएको केही समयपछि बसको पछिल्लो भागबाट आगो सल्किएको देखिएको थियो।