काठमाडौँ । रसुवामा आएको बाढीका कारण क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत र पुनर्निर्माणलाई सरकारले तीव्रता दिएको छ। पूर्वाधार विकास मन्त्रालयका अनुसार हालसम्म चार स्थानमा तुइन निर्माण गरी सञ्चालनमा ल्याइसकिएको छ भने थप तीन स्थानमा तुइन जडानको प्रक्रिया अघि बढाइएको छ।
मन्त्रालयका अनुसार इन्द्रेणीचौर र गुम्बाडाँडालाई जोड्ने त्रिशूली नदीमा मोटराइज्ड तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ। यसैगरी नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ अन्तर्गत स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ को हाकुबेंसीमा पनि तुइन सञ्चालनमा आइसकेका छन्।
थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको मन्त्रालयले जनाएको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि देखिएको विवाद समाधान भइसकेको छ। स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा भने माइन एरिया रहेकाले सुरक्षित स्थान पहिचान गरी तुइन जडान गर्नुपर्ने अवस्था रहेको मन्त्रालयले जनाएको छ। यस्तै, रसुवाको रुङ्गामा तुइन जडानका लागि स्थलगत अध्ययन (रेकी) भइरहेको छ।
बाढीबाट क्षति पुगेका १३ वटा झोलुङ्गे पुलको मर्मतसमेत अन्तिम चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखाका विभिन्न स्थानमा रहेका ती पुलको मर्मत कार्य भइरहेको मन्त्रालयले जनाएको छ।
यसैगरी थप सात वटा क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत कार्य पनि सुरु भएको छ। ती पुलका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर प्रक्रिया अघि बढिसकेको छ। मन्त्रालयका अनुसार पहिलो चरणको स्टिल पार्ट्स खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणका लागि सम्झौता भइसकेको छ।
बाढीका कारण पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुलको पुनर्निर्माण प्रक्रिया पनि अघि बढाइएको छ। ती पुलको पुनर्निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।




प्रतिक्रिया