काठमाडौं । काठमाडौंको त्रिपुरेश्वरमा सोमबार बसमा आगलागी हुँदा जलेर मृत्यु भएका चालकको पहिचान खुलेको छ ।
बसमा जलेर मृत्यु हुने चालक मकवानपुरको इन्द्रसरोवर गाउँपालिका सिस्नेरीका अर्जुन दोङ तामाङ रहेका छन् ।
त्रिपुरेश्वरमा सोमबार भएको घटनामा दावा लामाको नाममा रहेको सवारीचालक अनुमतिपत्र उनले प्रयोग गरेको खुल्न आएको काठमाडौं प्रहरी परिसरका एसएसपी दिलिप घिमिरेले बताए ।
एसएसपी घिमिरेका अनुसार प्रारम्भिक अनुसन्धानका क्रममा अर्जुनले दावा लामाको नाममा रहेको बैंक खाता तथा नागरिकतासमेत प्रयोग गरी विभिन्न घटनामा संलग्न भएको हुन सक्ने तथ्यहरू खुलेका छन्।
करिब तीन महिनाअघि मूलपानी क्षेत्रमा ट्राफिक प्रहरीसँग अभद्र व्यवहार गरेको घटनामा समेत अर्जुनले दावा तामाङको नाममा जारी भएको सवारीचालक अनुमतिपत्र प्रयोग गरेको पाइएको छ ।
अर्जुनले अन्य व्यक्तिको नाममा जारी भएका परिचयपत्र तथा कागजातहरू समेत प्रयोग गरेको हुन सक्नेबार थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




प्रतिक्रिया