संलग्न नभएको कारोबारमा फस्यो खनाल परिवार: अदालतबाट पनि न्याय नपाएको परिवारको गुनासो


काठमाडौं । जेलमा रहेका श्रीमानलाई छुटाइदिने भन्दै सूर्य बहादुर विष्टले १९ लाख ६० हजार रुपैयाँ लिएपछि सुरु भएको विवादमा आफूहरूलाई जबर्जस्ती जोडेर करिब ३३ लाख रुपैयाँको चेक लिएको भन्दै राजेन्द्र खनालको परिवारले न्यायको माग गरेको छ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमा खनाल परिवारले घटनाको विस्तृत विवरण सार्वजनिक गर्दै सरिता केसी र सूर्य बहादुर विष्टबीचको आर्थिक कारोबारबाट आफूहरू कसरी विवादमा तानिएको बताएका हुन्।

परिवारका अनुसार बारा जिल्ला निजगढ नगरपालिका–२ निवासी तथा काठमाडौं टोखामा बस्दै आएकी सरिता केसीले जेलमा रहेका आफ्ना श्रीमानलाई छुटाइदिने भन्दै काठमाडौं बनस्थली बस्ने सूर्य बहादुर विष्टलाई पटक–पटक गरी तीनवटा चेकमार्फत १९ लाख ६० हजार रुपैयाँ दिएकी थिइन्।

तर, विष्टले भनेअनुसार काम नगरेपछि सरिताले रकम फिर्ता मागिन्। त्यसपछि विष्टले २ लाख ५० हजार रुपैयाँ फिर्ता गरी बाँकी १७ लाख १० हजार रुपैयाँका लागि चेक दिइएको थियो ।

बाँकी रकमको भुक्तानी नभएपछि सरिताले १७ लाख १० हजार रुपैयाँको चेक बाउन्स गराएको र त्यसपछि विष्ट सम्पर्कविहीन भएको खनाल परिवारले जनाएको छ।

विष्ट सम्पर्कविहीन भएपछि सरिता राजेन्द्र खनालकहाँ पुगिन्। विष्ट र केसीकाे काराेबार भएकाे बेला खनाल माैखिक साक्षी बसेका थिए । माैखिक साक्षी बसेकाे भन्दै सरिताले खनाललाई पैसा फिर्ता गर्न दबाव दिइन् ।

त्यसपछि साँवा–ब्याजसहितको हिसाब गरेर करिब ३३ लाख रुपैयाँ बराबरको चेक खनालका छोरा विशाल खनालबाट सरिताले लिइन् ।

विशालका अनुसार त्यतिबेला उनका बुबा राजेन्द्र खनाल अस्पतालमा थिए। बुबा अस्पतालमा रहेका बेला आफूलाई दबाब तथा धम्की दिँदै चेक लिन गुण्डाशैलिमाआएको उनको आरोप छ।

सरिताले आफूलाई बलात्कारसम्बन्धी मुद्दा हाल्नेसम्मको धम्की दिँदै म्यासेज पठाएको समेत विशालले बताए ।

विशालका अनुसार उनले दिएको करिब ३३ लाख रुपैयाँको चेक विष्टले सरिताको रकम फिर्ता गरेपछि सरिताले उक्त चेक फिर्ता गर्ने सर्तमा दिइएको थियो।

पछि विष्ट र सरिता केसीबीच मेलमिलाप भयो । विष्ट र सरिताबीच सहमति भइसकेपछि चेक फिर्ता गर्नुपर्नेमा सरिताले सर्तअनुसार चेक फिर्ता नगरी उल्टै चेक बाउन्स गरिदिइन् । त्यसपछि अदालतले ६ करोड बराबरको सम्पत्ति असुल गर्न आदेश दिइएको र लिलामीसमेत निकालेको खनाल परिवारले जानकारी दिए ।

यसैबीच, अदालतमा परिवारको तर्फबाट बहस गरेका अधिवक्ता महनिधि सेढाईंको भूमिकामाथि पनि खनाल परिवारले प्रश्न उठाएको छ। विष्ट र केसीबीच मेलमिलाप भइसकेपछि खनालको चेक फिर्ता गर्ने सहमति भएको कागजात अदालतमा पेश नगरिएको परिवारको आरोप छ।

मुल कारोबारमा प्रत्येक्ष संलग्न नभएपनी मौखिक साक्षी बसेकै भरमा चेक अनादरको मुद्दा हाली सम्पुर्ण सम्पत्तिको लिलामको प्रक्रिया अगाडि बढाएपछि अहिले खनाल परिवार पिडामा छन् । अदालतलेसमेत न्याय नदिएपछि अहिले न्याय खोज्न कहाँ जाने भन्दै ? प्रश्न गरिरहेका छन् ।

अदालतबाट समेत आफूहरूले न्याय नपाएको गुनासो गर्दै खनाल परिवारले अब न्यायका लागि कहाँ जाने भन्ने प्रश्न उठाएको छ। परिवारले घटनाको निष्पक्ष छानबिन गरी आफूहरूलाई न्याय दिलाउन सम्बन्धित निकायसँग मागसमेत गरेका छन् ।