काठमाडौँ । नेपाल र मलेसियाबीचको वैदेशिक रोजगारीलाई पारदर्शी, मर्यादित र शोषणमुक्त बनाउने विषयमा दुवै देशका सरकार प्रमुखबीच उच्चस्तरीय छलफल भएको छ। प्रधानमन्त्री बालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवार इब्राहिमबीच मंगलबार बिहान भएको टेलिफोन वार्तामा रोजगारी क्षेत्रमा विद्यमान समस्या समाधान गर्नेबारे गम्भीर संवाद भएको हो।
संवादका क्रममा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारीका क्षेत्रमा देखिएका समस्याको स्थायी समाधानका निम्ति दुवै देशले संयुक्त पहल गर्नुपर्नेमा जोड दिए।
प्रधानमन्त्री शाहले मलेसियाली समकक्षी इब्राहिमसँग भने, ‘तपाईंका श्रममन्त्रीलाई हाम्रा श्रममन्त्रीसँग प्रत्यक्ष वार्तामा बस्न र यो समस्या सधैँका लागि हटाउन आवश्यक कदम चाल्न आग्रह गर्दछु।’

नेपाली समकक्षी शाहको प्रस्तावलाई सकारात्मक रूपमा लिँदै मलेसियाली प्रधानमन्त्री इब्राहिमले आफ्ना मानव संसाधन मन्त्रीलाई तत्कालै नेपालका श्रममन्त्रीसँग समन्वय गरी ठोस र दीर्घकालीन निकास निकाल्न निर्देशन दिने प्रतिबद्धता व्यक्त गरे ।
यसैबीच, दुई देशका शीर्ष नेतृत्वबीच सीधा संवाद भई निकास खोज्ने सहमति बनेपछि तोकिएका २५ मेनपावर व्यवसायीहरूले पनि यस कदमको स्वागत गरेका छन्। दुई देशबीचको अन्योल र दरार हटोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै व्यवसायीहरूले श्रमिक जाने प्रक्रिया रोकिन नहुने र मलेसियाली सरकारले गर्ने हरेक सुधारका निर्णयलाई आफूहरूले स्वागत गर्ने प्रतिक्रिया दिएका छन्।




प्रतिक्रिया