काठमाडौँ, ६ असोज । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले रसुवाबाढीपछि उद्धार तथा राहत वितरणको चरण करिब समाप्त भएकाले अब पुनःस्थापना र पुनःनिर्माणको कामलाई प्राथमिकता दिनुपर्ने बताएका छन् ।
विशेष समयमा भाग लिने सांसदहरूले बाढी प्रभावित क्षेत्रमा यथासक्य छिटो सडक सञ्जाल निर्माण गरी आवतजावतसहित अत्यवश्यक सामग्री उपलब्ध गराउन र बाढीपीडित जनतालाई गाँस– बासको उचित व्यवस्थासहित जीविकोपार्जनको प्रबन्ध गर्न सरकारको ध्यानाकर्षण गराए ।
सांसद रचना खतिवडा खड्काले सुशासन र परिवर्तनको पक्षमा भएको ‘जेनजी’ आन्दोलनपछिको उपलब्धिलाई आत्मसाथ गर्न, सो आन्दोलनमा सहिद भएकालाई सम्मान गर्न र अनावश्यक तर्कसहित सहिद परिवारलाई थप दुःखी नबनाउन अनुरोध गरिन् ।
सांसद सीता थपलियाले पछिल्ला दिनमा हाम्रा ‘युवा’ मा चरम निरासासहित असन्तुष्टि देखिएकाले त्यसतर्फ राज्यसंयन्त्रको ध्यान नगए मुलुक अप्ठ्यारोमा पर्नसक्ने धारणा व्यक्त गरिन् । सांसद राजेन्द्रकुमार राईले धनकुटामा ‘बाँदर आतङ्क’ भएको भनी पटकपटक आवाज उठाउँदा पनि सुनुवाइ नभएकामा असन्तोष व्यक्त गरे ।
सांसद भीमकुमारी बुढामगरले सरकार गठन भएको करिब छ महिना बितिसक्दा पनि जेनजी आन्दोलनको भावना, सहिदको सपना र आमजनताको अपेक्षा पूरा नभएको आरोप लगाइन् । सांसद धु्रवराज राईले रसुवा बाढीमा परी जनधनको अपूरणीय क्षति भएकामा दुःख व्यक्त गर्दै बाढी प्रभावितको व्यवस्थापनलाई उच्च प्राथमिकता दिन सरकारसँग अनुरोध गरे ।




प्रतिक्रिया