संसद्‌को मर्यादा कायम राख्न सांसदहरूलाई सभामुखको ताकेता


काठमाडौँ । पछिल्ला बैठकहरूमा सांसदहरूको व्यवहार र भूमिकामाथि सार्वजनिक प्रश्न उठ्न थालेपछि सभामुख डीपी अर्यालले प्रतिनिधिसभाको बैठकलाई अनुशासित र मर्यादित बनाउन सांसदहरूलाई निर्देशन दिएका छन्।

संसद्‌को कार्यसम्पादनलाई मर्यादित र उत्कृष्ट बनाउनु कुनै एक पक्षको मात्र नभई सम्पूर्ण माननीय सदस्यहरूको साझा कर्तव्य र दायित्व भएको सभामुख अर्यालले स्पष्ट पारे।

संसद् सञ्चालनलाई थप व्यवस्थित बनाउन सबै दल एवं सदस्यहरूकै सर्वसम्मत पहलमा ‘प्रतिनिधिसभा नियमावली, २०८०’ जारी गरी लागू गरिएको स्मरण गराउँदै उनले नियमको पालनामा संवेदनशील हुन आग्रह गरे।

“संसद् नियमावलीको परिधिभित्र रहेर नै हामीले सभा सञ्चालन गरिरहेका छौँ,” सभामुख अर्यालले बैठकमा भने, “म सबै माननीय सदस्यहरूलाई प्रतिनिधिसभा नियमावलीको नियम २० र नियम २१, त्यसमा पनि विशेष गरी नियम २० को खण्ड ‘ट’ प्रति गम्भीर ध्यानाकर्षण गराउन चाहन्छु।”