हार मानेका छैनौं, खोज तथा उद्धारमा सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौं : मन्त्री श्रेष्ठ


काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले भोटेकोशी बाढीबाट जलविद्युत आयोजनाका सुरुङमा फसेकाहरूको खोज तथा उद्धारका लागि सम्पूर्ण सामर्थ्य परिचालन गरिएको बताएका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकमा सम्बोधन गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएका हुन् । ‘हामीले हार मानेका छैनौं । सम्भावनाको अन्तिम ढोकासम्म खोज तथा उद्धारका निम्ती सम्पूर्ण सामर्थ्य परिचालन गरेका छौं,’ उनले भने ।

मन्त्री श्रेष्ठले खोज तथा उद्धार अन्तिम सम्भावनासम्म निरन्तरता दिइने बताए । उनले भने, ‘अहिलेको हाम्रो पहिलो दायित्व खोज तथा उद्धारलाई अन्तिम सम्भावनासम्म निरन्तरता दिनु, घाइतेहरूको उपचार गर्नु, विस्थापित परिवारको पुनःस्थापना गर्नु र क्षतिग्रस्त विद्युत, सडक, पुललगायतका पूर्वाधारको शीघ्र पुनर्निर्माण गर्नु हो ।’