आरक्षण नेसनल स्कुलको आयोजनामा एकल गायन प्रतियोगिता सम्पन्न


भक्तपुर । सनल प्याव्सन भक्तपुरको कार्यक्रमअन्तर्गत अन्तरविद्यालय एकल गायन प्रतियोगिता–२०८३ चाँगुनारायण नगरपालिका–८ स्थित आरक्षण नेसनल स्कुलको आयोजनामा सम्पन्न भएको छ।

प्रतियोगितामा नेसनल प्याव्सन भक्तपुरमा आबद्ध विद्यालयका विद्यार्थीहरूले माध्यमिक र आधारभूत तह गरी दुई विधामा प्रतिस्पर्धा गरेका थिए।

माध्यमिक तहतर्फ ईडेन गार्डेन स्कुलका श्रीजय महत प्रथम, मदरल्याण्ड स्कुलकी रोहिणी बस्नेत द्वितीय, डेमोस स्कुलकी वर्षा जिम्बा तामाङ तृतीय तथा पाथीभरा एकेडेमीका कृस्तफ थापा मगर सान्त्वना भएका छन्।

त्यस्तै, आधारभूत तहतर्फ ऋतम्भरा पाठशालाकी नितु तामाङ प्रथम, संस्कार गुरुकुलकी विदुषी ढकाल द्वितीय, मदरल्याण्ड स्कुलका न्युरोन लोहोला तृतीय तथा नगरकोट सनराइज स्कुलका दिवस नगरकोटी सान्त्वना भए ।

आरक्षण नेसनल स्कुलकी कार्यकारी निर्देशक शर्मिला खड्काको सभापतित्वमा सम्पन्न कार्यक्रममा चाँगुनारायण नगरपालिका–८ का वडाध्यक्ष तथा नगर प्रवक्ता जनक खत्री प्रमुख अतिथि रहेका थिए। उनले नेसनल प्याव्सनले आयोजना गर्ने यस्ता अन्तरविद्यालय प्रतियोगिताले विद्यार्थीमा लुकेको प्रतिभा प्रस्फुटन गर्न महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष सञ्जय खड्काले प्रतियोगिता सफलतापूर्वक सम्पन्न गरेकोमा आयोजक विद्यालयप्रति आभार व्यक्त गर्दै विजेता विद्यार्थीहरूलाई बधाई तथा शुभकामना दिए।

कार्यक्रम संयोजक सरोज केसीका अनुसार प्रतियोगिताको उद्देश्य विद्यालय तहबाटै विद्यार्थीको गायन प्रतिभा, सिर्जनशीलता र आत्मविश्वास विकास गर्नुका साथै कला तथा संगीतप्रतिको रुचिलाई प्रोत्साहन गरेको थियो।