मनास्लु हिमालमा मृत्यु भएका दुईको शव काठमाडौँमा


गोरखा, ७ असोज । मनास्लुको हिउँपहिरोमा पुरिएर मृत्यु भएका दुई व्यक्तिको शव काठमाडौँ लगिएको छ ।

मनास्लुको फेदीमा रहेको चुमनुब्री–१ सामागाउँबाट बुधबार बिहान हेलिकप्टरमार्फत काठमाडौँ लगिएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ । 

भारतीय मूलका जर्मन नागरिक ध्रुवज्योति गुहा र उनका सहयोगी मकालु–२, सङ्खुवासभाका फुर्सेम्बा शेर्पाको गत आइतबार राति तेस्रो शिविरमा हिमपहिरोमा पुरिएर मृत्यु भएको थियो ।

घटना भएको तीन दिनपछि उनीहरुको शव मङ्गलबार सामागाउँ पु¥याइएको थियो । सो स्थानबाट बुधबार बिहानै महाराजगञ्जस्थित शिक्षण अस्पतालमा लगिएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए । उनीहरु मकालु एड्भेञ्चर कम्पनी प्रालिबाट मनास्लु आरोहणका लागि गएका थिए ।

यससँगै मनास्लुमा मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । यसअघि सिङ्गापुरका आरोही ५० वर्षका लाउवी सेङको पनि दोस्रो शिविरमा मृत्यू भएको थियो ।

त्यस्तै नेपाली सहयोगी २० वर्षका टासी शेर्पाको पनि आधार शिविरमा मृत्यु भएको थियो । किलर माउण्टेनको नामले चिनिने मनास्लु आरोहणका लागि यो सिजनमा ४९३ जना विदेशी आरोहीले अनुमति लिएका छन् ।

प्रतिकूल मौसमका कारण कसैले पनि अहिलेसम्म आरोहण सफल गर्न सकेका छैनन् । भारी हिमपात र अविरल वर्षाका कारण आरोहीहरु धमाधम काठमाडौँ फर्किरहेका छन् ।