देउवालाई बाहिर राखेर गरिएको महाधिवेशन एकताको हुन सक्दैन : धमला


काठमाडौँ । स्वतन्त्र नागरिक अभियानका अध्यक्ष ऋषि धमलाले नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवालाई बाहिर राखेर गरिने महाधिवेशन एकताको महाधिवेशन हुन नसक्ने दाबी गरेका छन् ।

रिपोर्टर्स क्लब नेपालमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै अध्यक्ष धमलाले देउवासहितका अन्य शीर्ष नेताहरूलाई समेटेर अघि बढे मात्रै कांग्रेस सशक्त हुने बताए ।

“देउवालाई बाहिर राखेर महाधिवेशन त होला, तर त्यो एकताको महाधिवेशन हुन सक्दैन,” धमलाले भने, “शेरबहादुर देउवासँगै पूर्णबहादुर खड्का, शेखर कोइराला, डा. शशांक कोइराला र कृष्णप्रसाद सिटौलाजस्ता नेताहरूलाई समेटेपछि मात्रै नेपाली कांग्रेस सशक्त हुन्छ ।”

कार्यक्रममा धमलाले कांग्रेस सभापति गगन थापालाई छाती फराकिलो बनाएर अघि बढ्न आग्रह गरे । थापा कुनै एउटा गुटको मात्र नभई सिङ्गो कांग्रेस पार्टीको सभापति बन्नुपर्नेमा उनले जोड दिए ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य मीन विश्वकर्मा प्रमुख वक्ता रहेको उक्त कार्यक्रममा धमलाले देउवा र थापाबिच देखिएको दूरी अन्त्य गर्न दोस्रो तहका नेताहरूले पहल गर्नुपर्ने बताए । “देउवा र गगन थापालाई एकै ठाउँमा राखेर छलफल गराउन मीनबहादुर विश्वकर्माहरूलगायतका नेताहरूले मध्यस्थताको भूमिका खेल्नुपर्छ,” उनले भने ।

यसैबिच, स्वतन्त्र नागरिक अभियानले आगामी स्थानीय तहको निर्वाचनमा गैरदलीय उम्मेदवारीको व्यवस्था हुनुपर्ने धारणा राखेको छ । स्थानीय तहमा दलीय राजनीतिको साटो स्वतन्त्र र सक्षम व्यक्तिहरू आउनुपर्ने स्पष्ट पार्दै धमलाले यसबारे छिट्टै सबै राजनीतिक दलका शीर्ष नेताहरूलाई ज्ञापनपत्र बुझाइने जानकारी दिए ।