बालेन सरकार ढाल्न आन्दोलन गर्ने विपक्षी दलहरुको भित्री गृहकार्य शुरु


काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन शाह नेतृत्वको सरकार गठन भएको ६ महिना पुग्दा पुराना दलहरू रणनीतिक घेराबन्दीको तयारीमा जुटेका छन् । सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको निष्कर्ष निकाल्दै एमाले, नेपाली कांग्रेसको देउवा समूह र नेपाली कम्युनिस्ट पार्टीका शीर्ष नेताहरू सरकारविरुद्ध आन्दोलनको वातावरण बनाउन भित्री गृहकार्यमा लागेको स्रोतको दाबी छ ।

प्रतिपक्षी दलहरूले विकल्पविना सुकुम्बासी बस्ती हटाइएको, भोटेकोशी बाढीपछिको उद्धार तथा पुनर्निर्माणमा ढिलासुस्ती भएको र आकासिँदो महँगी नियन्त्रणमा सरकार असफल भएको विषयलाई मुख्य मुद्दा बनाउने रणनीति बनाएका छन् । जनस्तरमा बढेको असन्तोषलाई उपयोग गर्दै एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस पूर्व सभापति शेरबहादुर देउवा र नेकपा संयोजक पुष्पकमल दाहालबीच संवाद बाक्लिएको स्रोतको दाबी छ ।

एमाले अध्यक्ष ओलीले विपद् व्यवस्थापन र पूर्वाधार निर्माणमा सरकार असफल भएको भन्दै सार्वजनिक रूपमै आक्रामक अभिव्यक्ति दिइरहेका छन् । उता कांग्रेस पूर्व सभापति देउवा भने अदालतको फैसलापछि छुट्टै महाधिवेशन गर्ने र प्रतिपक्षी मोर्चाको नेतृत्व आफैंले लिने आन्तरिक तयारीमा देखिन्छन् । नेकपा संयोजक दाहालले दशैंपछि सरकारविरुद्ध आन्दोलनमा उत्रिने यसअघि नै घोषणा गरिसकेका छन् ।

प्रतिपक्षीहरू सडक मोर्चाको तयारीमा जुटे पनि संसदीय गणित उनीहरूका लागि मुख्य तगारो बनेको छ । संसद्‌मा रास्वपासँग दुई तिहाइ नजिकको स्पष्ट बहुमत रहेकाले सडकको दबाबका भरमा मात्रै सरकार ढाल्न सम्भव नभएको राजनीतिक विश्लेषकहरुको ठहर छ ।